विद्यार्थी सडकमा उत्रिए, अभिभावकद्वारा विद्यालय सञ्चालकको आलोचना, वार्ताको लागि आह्वान
जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघ धनुषाबीच भएको सम्झौता खारेजीको माग गर्दै निजी विद्यालय सञ्चालकहरु बालबालिकाको पठनपाठनलाई बेवास्ता गर्दै विद्यालय ठप्प गरेर आन्दोलनमा उत्रेका छन् । विद्यार्थीहरु अध्ययनबाट बञ्चित भएको भन्दै अभिभावकहरु चिन्तित देखिन्छन् ।
निजी विद्यालय सञ्चालकहरुले अनिश्चितकालका लागि विद्यालय बन्द गरेपछि अभिभावकहरु अन्योलमा परेका छन् भने विद्यार्थीहरु पनि सडक तताउँन थालेका छन् ।
गुणस्तरीय शिक्षाका मोटो रकम तिरेर भए पनि निजी विद्यालयमा पढाइरहे पनि विद्यालय नै ठप्प गर्नु निन्दनीय रहेको अभिभावक रुबि झाले गुनासो गरिन् ।
जनकपुरधाम उपमहानगरपालिकाले कक्षा ११ र कक्षा १२ का विद्यार्थीलाई दिइरहेको छात्रवृत्तिको शुल्क फिर्ता गर्न र विद्यार्थीहरुसंग लिँदै आएको शुल्क बढी भएको भन्दै विद्यार्थी भर्ना शुल्क निर्धारण गरेपछि जनकपुरधामका निजी विद्यालयहरुका सञ्चालकहरुको छाता संगठन संयुक्त रुपमा अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् ।
हिसान, प्याबसन, एनप्याबसन र मधेश प्याबसनले संयुक्त रुपमै नकपुरधाम उपमहानगरपालिकाको कार्यालयले निर्धारण गरेको शुल्कको विरोध गर्दै तत्काल फिर्ता लिनुपर्ने माग राख्दै विद्यालयको अध्ययन अध्यापन नै ठप्प गरेका छन् ।
विद्यालय नै बन्द गरेपछि निजी विद्यालयका सञ्चालकहरुको अभिभावकहरुले आलोचनासमेत गर्न थालेका छन् ।
नेवि संघले निजी विद्यालयले अभिभावकहरुसंग मोटो रकम असुल्ने गरेको भन्दै आन्दोलन गरेको थियो । आन्दोलनको फलस्वरुप जनकपुरधाम उपमहानगरपालिकाले शुल्क निर्धारण गर्दै छात्रवृत्तिको नाममा विद्यार्थीहरुबाट लिएको रकम समेत फिर्ता गर्न निर्देशन दिएको थियो ।
तर निजी विद्यालय सञ्चालकहरुको संगठनले भने जनकपुरधाम उपमहानगरपालिकाले गरेको निर्णय नै फिर्ता लिनुपर्ने भन्दै पठनपाठन नै ठप्प पारेका छन् ।
जनकपुरधाम उपमहानगरले निजी विद्यालयहरुसंग समन्वय नै नगरी कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरुको छात्रवृति सम्बन्धि सम्झौता गरेपछि आफूहरु आन्दोलित भएको प्याबसन जनकपुरधाम नगर समितिका अध्यक्ष दीपक ठाकुरले बताए ।
निजी विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन, मधेश प्याब्सन तथा हिसानको संयुक्त बैठकबाट कक्षा ११ तथा कक्षा १२ को विद्यार्थीहरुको छात्रवृत्ति सम्बन्धि समस्या समाधान वार्ताको माध्यमबाट खोज्ने निर्णय समेत गरेको छ ।
विद्यालय संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघबीच कक्षा ११ र १२ का छात्रवृत्तिका सम्बन्धमा भएको सम्झौतामा सुधारको माग गर्दै पत्राचारको बेवास्ता गरेको उनको भनाइ छ ।
केही दिनदेखि विद्यालय बन्द गरेर सञ्चालकहरु नै आन्दोलनमा उत्रिएपछि सोको विरोधमा नेवि संघले पनि आन्दोलनमा उत्रेका छन् ।
नेवि संघ धनुषाले जनकपुरधामको नगर प्रदर्शन गर्दै निजी विद्यालयका सञ्चालकहरुको विरोधमा चरणबद्ध सडक आन्दोलन थालेको छ ।
निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेवि संघबीच भएको सम्झौता विरुद्ध आन्दोलन थालेपछि आफूहरु पनि उनीहरुको भण्डाफोर गर्दै आन्दोलनमा उत्रिनु परेको नेविसंघ धनुषाका सभापति यादवले बताए ।
निजी विद्यालयहरुले मनोमानी ढंगले प्रति विद्यार्थीसंग न्यून्तम २५ हजारदेखि ६० हजार रुपैयाँसम्म भर्ना शुल्क लिइरहेकाले पाइए पछि आफूहरु आन्दोलित भएको नेविसंघ धनुषाका सभापति यादवले बताए ।
विद्यालय बन्द हुँदा अभिभावकहरु भने निजी विद्यालय सञ्चालकहरुले अध्ययन अध्यापन ठप्प गर्नु गलत रहेको बताउन थालेका छन् ।

जनकपुरधाममा अध्ययनअध्यापनको नाममा निजी विद्यालयले मोटो रकम खुलेआम रुपमा असुल्दा समेत स्थानीय तहको सरकार, मधेश प्रदेश सरकार र संघीय सरकारसमेत मुकदर्शन हुनुपर्ने अवस्था आउनु विडम्बना नै रहेको अभिभावकहरु बताउँछन् ।
यता जनकपुरधाम उपमहानगरपालिकाले आज आन्दोलनरत्त पक्षलाई वार्तामा बोलाएको छ ।
