जनकपुरधाम ।

जनकपुरधाममा बालबालिकालाई लक्षित गर्दै मोनास्टिक स्कुलले दुई दिने नेशनल स्टुडेन्ट इनोवेशन समिट २०२४ (सीजन–२) शुरु गरेका छ ।

एनवाइइएफ जनकपुर च्याप्टर र मोनाष्टिक स्कुलको संयूक्त आयोजनामा समिट शुरु गरेको हो ।

विद्यालयस्तरी उद्यमता र नवाचारको संस्कृति स्थापित गर्ने उद्देश्यले समिट आयोजना गरिएको जनाएको छ ।

यसअघि समिटको पहिलो संस्करण २०२३ मा सफलताका साथ सम्पन्न भएको थियो । यस कार्यक्रममा मधेश प्रदेशमा विद्यालयस्तरीय विद्यार्थी, शिक्षक र विभिन्न क्षेत्रका उद्यमीहरूको सहभागिता रहेको थियो । यसको परिणामस्वरूप यस कार्यक्रमले विद्यालय स्तरमा उद्यमिताको सोचलाई थप प्रोत्साहन पुर्याएकोले यसपालि यसको दोस्रो संस्करणको आयोजना हुनेछ ।

विद्यालयका विद्यार्थीहरूलाई उद्यमिता सोच र नवाचारको प्रवृत्ति तथा क्षमतामा सशक्त बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको मोनाष्टिक स्कुलका निर्देशक डा. सोनु साहले बताए । सो कार्यक्रममा ३५ विद्यालयबाट ३५० भन्दा बढी विद्यार्थीहरू (कक्षा ६ देखि कक्षा १२ सम्मका) सहभागी हुने उनले बताए ।

सो कार्यक्रमको औपचारिक उद्घाटन आइतबार हुनेछ । यस दिन विभिन्न विद्यालयका विद्यार्थीहरू, शिक्षक र विभिन्न क्षेत्रका विशेषज्ञहरू उपस्थित हुनेछन् । त्यस्तै, समिटको अन्तिम दिन सोमबार हाट बजारको आयोजना गरिने छ । जहाँ विद्यार्थीहरूले आफ्ना १०० भन्दा बढी नवप्रवर्तनात्मक उत्पादनहरू प्रदर्शन गर्नेछन् । यस हाट बजारमा ८० स्टल रहनेछन्, जसमा विद्यार्थीहरूले आफ्नो सिर्जनशीलता र उद्यमिता कौशल प्रस्तुत गर्ने उनले बताए ।

निर्देशक डा. सोनुले भने, ‘यो कार्यक्रम मधेश क्षेत्रमा उद्यमिता र स्टार्टअप संस्कृतिको विकासको प्रारम्भ हो, जसले विद्यार्थीहरूको सोचमा सकारात्मक परिवर्तन ल्याउनेछ र उनीहरूलाई भविष्यमा स्वावलम्बी र सृजनात्मक व्यवसायीका रूपमा तयार गर्नेछ ।’

उनले यस समिटले विद्यार्थीहरूलाई व्यावसायिक संसारमा प्रवेश गर्ने प्रेरणा दिने मात्र नभई उनीहरूको आत्मविश्वास र क्षमता विकास गर्ने अवसर पनि प्रदान गर्ने बताइ । यसबाट विद्यार्थीहरूका नयाँ विचार र उत्पादनहरूले आगामी दिनमा समाज र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने आफूहरुले विश्वास लिएको उनले बताए ।

निर्देशक डा. सोनुले कार्यक्रमको अन्तिम दिन शनिबार मिल्स एरियास्थित मोनाष्टिक स्कुलको प्राङ्गणमा आयोजना हुने हाट बजारमा अभिभावकहरुलाई अनिवार्य रुपमा उपस्थित हुनका लागि आग्रह गरेका छन् ।