
जनकपुरधाम ।
जनकपुरधाममा बालबालिकालाई लक्षित गर्दै मोनास्टिक स्कुलले दुई दिवसीय नेशनल स्टुडेन्ट इनोवेशन समिट २०२४ (सीजन–२) अन्तर्गत आज हाटबजार कार्यक्रम सम्पन्न गरेको छ ।
एनवाइइएफ जनकपुर च्याप्टर र मोनाष्टिक स्कुलको संयूक्त आयोजनामा शुरु भएको समिट कार्यक्रममा भव्यताका साथ हाटबजार सम्पन्न भएको छ ।
विद्यालयस्तरी उद्यमता र नवाचारको संस्कृति स्थापित गर्ने उद्देश्यले समिट आयोजना गरिएको थियो ।
यसअघि समिटको पहिलो संस्करण २०२३ मा सफलताका साथ सम्पन्न भएको थियो । यस कार्यक्रममा मधेश प्रदेशमा विद्यालयस्तरीय विद्यार्थी, शिक्षक र विभिन्न क्षेत्रका उद्यमीहरूको सहभागिता रहेको थियो । यसको परिणामस्वरूप यस कार्यक्रमले विद्यालय स्तरमा उद्यमिताको सोचलाई थप प्रोत्साहन पुर्याएकोले यसपालि यसको दोस्रो संस्करणको आयोजना भएको छ ।
विद्यालयका विद्यार्थीहरूलाई उद्यमिता सोच र नवाचारको प्रवृत्ति तथा क्षमतामा सशक्त बनाउनका लागि यस कार्यक्रमको मुख्य उद्देश्य रहेको मोनाष्टिक स्कुलका निर्देशक डा. सोनु साहले बताए । यस कार्यक्रममा ३५ विद्यालयबाट ३५० भन्दा बढी विद्यार्थीहरू (कक्षा ६ देखि कक्षा १२ सम्मका) सहभागी रहेको थियो ।
यस कार्यक्रममा मुलुकभरका विभिन्न विद्यालयका विद्यार्थीहरू, शिक्षक र विभिन्न क्षेत्रका विशेषज्ञहरू उपस्थित रहेका थिए । यस हाटबजारमा विद्यार्थीहरूले आफ्ना १०० भन्दा बढी नवप्रवर्तनात्मक उत्पादनहरू प्रदर्शन गरी प्रदर्शनी तथा विक्री वितरण गरेका थिए । यस हाट बजारमा ८० स्टलको व्यवस्थापन गरिएको थियो । भने सहभागी विद्यार्थीहरूले आफ्नो सिर्जनशीलता र उद्यमिता कौशल प्रस्तुत गरेका थिए ।
निर्देशक डा. सोनुले भने, ‘यो कार्यक्रम मधेश क्षेत्रमा उद्यमिता र स्टार्टअप संस्कृतिको विकासको प्रारम्भ हो, जसले विद्यार्थीहरूको सोचमा सकारात्मक परिवर्तन ल्याउनेछ र उनीहरूलाई भविष्यमा स्वावलम्बी र सृजनात्मक व्यवसायीका रूपमा तयार गरिने योजना रहेको छ ।’
उनले यस समिटले विद्यार्थीहरूलाई व्यावसायिक संसारमा प्रवेश गर्ने प्रेरणा दिने मात्र नभई उनीहरूको आत्मविश्वास र क्षमता विकास गर्ने अवसर पनि प्रदान गर्ने बताए । यसबाट विद्यार्थीहरूका नयाँ विचार र उत्पादनहरूले आगामी दिनमा समाज र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने आफूहरुले विश्वास लिएको उनले बताए ।