जनकपुरधाम ।

संस्थागत विद्यालय भोलीदेखि सञ्चालन नगरे कारबाही गर्ने जनकपुरधाम उपमहानगरपालिकाले चेतावनी दिएको छ । तर संस्थागत विद्यालयहरुको संगठनले उपमहानगरपालिकाले विद्यालय खोल्न दिएको निर्देशनविरुद्ध पठनपाठन ठप्प पार्दै विद्यायल नखोल्ने जनाएको छ ।

संस्थागत विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने अधिकार हनन् नगर्न जनकपुरधाम उपमहानगरले संस्थागतक विद्याला सञ्चालकयहरुलाई आग्रह गरेको जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कर्णले बताए ।

आन्दोलन गर्न पाउनु अधिकारको कुरा भए पनि आन्दोलनका नाममा विद्यालय नै बन्द गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न उनले आग्रह गरे ।

जनकपुरधाम उपमहानगरभित्र सञ्चालित संस्थागत विद्यालयहरुमा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ को प्रावधान अनुरुप संस्थागत विद्यालयले दश प्रतिशत विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्तिमा अध्यापन गराउनु पर्ने प्रावधान कार्यान्वयनका लागि उपमहानगरले विद्यार्थीहरुको नामावली पठाए पनि उनीहरुले नमानेको उपमहानगरले जनाएको छ ।
शिक्षण संस्था सम्बद्ध संगठनहरुले रजिष्ट्रेशन शुल्क र परिक्षा शुल्क मात्रै लिई गराउन नसकिने भन्दै थप अन्य शिर्षकमा शुल्क लिन पाउनु पर्ने भन्दै विद्यालयहरु बन्द गराइएको विषयमा विद्यालय सञ्चालन गराउन शिक्षण संस्था सम्बद्ध संगठनसँग पटक–पटक वार्ता गरिए पनि वार्ता निष्कर्षविहिन भएको छ ।

निःशुल्क छात्रवृति सम्बन्धि व्यवस्था कार्यान्वयन गर्न आनाकानी गरेर वार्ता निष्कर्षविहिन भएको सम्बन्धमा आइतवारदेखि सम्पुर्ण संस्थागत विद्यालय सुचारु गरी विद्यार्थीको शिक्षा प्राप्त गर्न पाउने संवैधानिक शिक्षा सम्बन्धि हकको कार्यान्वयन गर्न जनकपुरधाम उपमहानगरले अनुरोध गरेको छ ।

May be an image of text

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ र ऐनको नियमावली २०७७ को व्यवस्था अनुसार निःशुल्क छात्रवृति सम्बन्धि व्यवस्था कार्यान्वयन नगरे वा विद्यालय बन्द राखेमा कानुन बमोजिम कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।

तर संस्थागत विद्यालयहरुको संगठन हिसान, एनप्याब्सन, प्याब्सन, एमप्याब्सनले जनकपुरधाम उपमहानगरपालिकासंगको वार्ता हालसम्म सफल हुन नसकेको बताउँदै आफूहरुको आन्दोलन अझै जारी रहेको जनाएको छ । उनले अहिलेको परिस्थिति अनुसार संस्थागत विद्यालय सञ्चालन गर्ने वातावरण नरहेकाले तत्काल विद्यालय बन्द नै रहने हिसान धनुषाका अध्यक्ष सञ्जिव ठाकुरले बताए ।

आज जनकपुरधाम उपमहानगरपालिका र आन्दोलनरत पक्षबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । लगातार तीन दिनदेखि चलिरहेको वार्ताको क्रममा शनिबार आन्दोलनरत पक्षले प्रस्तुत गरेका विषयमा तत्काल सम्बोधन गर्न नसकिने मेयर मनोजकुमार साहले स्पष्ट पारेपछि वार्ता निष्कर्षविहीन टुंगिएको थियो ।

मेयर साहले आन्दोलनरत पक्षले निःशुल्क शिक्षामा पनि शुल्क निर्धारण गर्नुपर्ने अधिकार दिन माग गरेपछि वार्ता निष्कर्षविहीन टुंगिएको जानकारी दिए ।

May be an image of text

तर एनप्याब्सन जनकपुरधामका नगर अध्यक्ष दीपक ठाकुरले तीनै तहको सरकारले सामुदायिक विद्यालयहरुमा निःशुल्क शिक्षासम्बन्धीको निर्णय लागू गर्नुपर्ने माग गरे । उनले आइतबार बस्ने बैठकबाट आन्दोलनको स्वरुप परिवर्तन गरी आन्दोलनलाई निरन्तरता दिने बताए ।

विगत लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा विद्यार्थी तथा अभिभावकहरु मारमा परेका छन् । तर संस्थागत विद्यालय सम्बद्ध सञ्चालकहरुले भने अझै केही साता विद्यालय बन्द रहे पनि फरक नपर्ने जिकिर गर्दै आएका छन् ।