जनकपुरधाम ।
मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा डेंगु प्रभावित हुनेको संख्या न्यून देखिएको छ । विभिन्न पाँच वटा प्रदेशमा १३ सयभन्दा बढी मानिस डेंगुबाट प्रभावित भएका छन् भने मधेशमा ५७० जनामात्रै डेंगु सङ्क्रमित छन् ।
कर्णालीका ३४७ जना डेंगुबाट प्रभावित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्कमा उल्लेख छ । कर्णाली प्रदेशमा चिसो हुने क्षेत्र भएकाले ३४७ जना डेंगु प्रभावित भएका छन् । तर तुलनात्मक रूपमा बढी गर्मी हुने मधेश प्रदेशमा पनि डेंगु सङ्क्रमितको संख्या न्यून देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का प्रमुख डा. यदुचन्द्र घिमिरेले मधेश प्रदेशमा डेंगु सङ्क्रमण कम हुनुमा विभिन्न पक्ष हुन सक्ने अनुमान गरेका छन् ।
उनले डेंगु सङ्क्रमण कम हुनुमा तापक्रमको पनि भूमिका रहने बताए । वातावरणको तापक्रम बढी भएमा डेंगु सार्ने लामखुट्टेको वृद्धिविकास हुन नसक्ने उनले बताए ।
तराई–मधेश जस्ता गर्मी हुने क्षेत्रमा डेंगु सङ्क्रमित संख्या कम हुनु अध्ययनको विषय रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे बताए ।
डा. चालिसेले धेरै गर्मीमा डेंगु सार्ने लामखुट्टे बाँच्न नसक्ने भनेर तर्क गर्ने हो भने भारतको दिल्लीजस्तो अति गर्मी हुने ठाउँमा पनि डेंगु सङ्क्रमण हुने गरेको बताए ।
स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा.राजीव कुमार झाले अन्य क्षेत्रमा डेंगु फैलिए लगत्तै आफूहरूले डेंगु सचेतना कार्य गरेका कारण सङ्क्रमण न्यूनीकरण भएको दाबी गरेका छन् । निर्देशक डा. झाले भने, ‘अन्य प्रदेशमा डेंगु फैलियो र हामीले पालिकास्तरमा डेंगु गराउने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन ग¥यौँ,’ उनले अघि थप्दैँ भने, ‘प्रदेशको समन्वयमा अस्पताल आएका बिरामीको रगत परीक्षण गर्दा १ लाखभन्दा कम प्लेटलेट भएका बिरामीलाई मात्रै हामीले डेंगु परीक्षण गर्ने भनेका थियौँ ।’
मधेश प्रदेशमा डेंगु फैलाउने लामखुट्ट्ेको लार्भा खोज र नष्ट गर अभियान अन्तर्गत तीन लाख रुपैयाँ खर्च भएको डा. झाले बताए ।
ईडीसीडीको पछिल्लो तथ्याङ्कमा उल्लेख भए अनुसार देशभरमा ३२ हजार ७ सय जना डेंगु सङ्क्रमण देखिएको छ । जसमध्ये मधेश प्रदेशका ५७० जना सङ्क्रमित छन् ।
त्यस्तै कोशीमा १ हजार ९५९, बागमती प्रदेशमाम ११ हजार ४२४, गण्डकीका १५ हजार ३३४, लुम्बिनी प्रदेशमा १ हजार ६९७ जनामा डेंगु संक्रमण पुष्टि भएको तथ्याङ्क छ । कर्णाली प्रदेशमा ३४७ जना र सुदूरपश्चिममा १ हजार ३६९ जनामा डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ ।
डेंगु संक्रमणबाट अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
