जनकपुरधाम ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–१ मा वडाअध्यक्षको लागि हुने उपनिर्वाचनको सरगर्मी बढेको छ । उनचुनाव नजिकिंदै जाँदा मतदाता फकाउन उम्मेदवारहरु व्यस्त छन् ।
नेकपा माओवादी केन्द्रबाट सुनिल कापर केवट, नेकपा एमालेबाट प्रमोद यादव, कांग्रेसबाट अशोककुमार मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रामदेवसिंह दनुवार, जसपा नेपालबाट अजयकुमार यादव, जनमत पार्टीबाट कुशेश्वर मण्डल, बहुजन एकता पार्टीबाट प्रमिला कुमारी सदा उम्मेदवार छन् ।
एमालेका उम्मेदवार प्रमोद यादव घरदैलो अभियान समापन गर्दै विभिन्न समूहमा भेटघाट गरेर मतदाताका समीक्षा गर्दै थिए । मतदाताको मनस्थिति बुझ्दै रणनीति बनाउन उनले समूहमा भेटघाटलाई निरन्तरता दिएका छन् । गत निर्वाचन २०७९ मा यादव निकटतम प्रतिद्वन्दी थिए ।
बिरासत जोगाउन कांग्रेस चुनावी तयारीमा जुटेको छ । कांग्रेसका उम्मेदवार अशोक विगतमा पनि कांग्रेसका वडाअध्यक्षले गर्न नसकेका बाँकी कामको अभिभारा जनताले पूरा गर्ने पक्षमा जनता देखिएको दाबी गरे ।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका विश्वनाथ यादव ठूलो मतान्तरले विजयी भएका थिए । उनले ६१८ मत ल्याएर वडाध्यक्ष जित्दा निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार प्रमोद यादवले ३७७ मा मत पाएका थिए । ३६९ मतसहित तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका शुनिल कापर केवट उपनिर्वाचनमा पनि उम्मेदवार बनेका छन् ।
तत्कालीन चुनावमा चौथो स्थानमा जसपाका उम्मेदवार देवनारायण यादवले ३२५ मत पाएका थिए भने पाँचौ स्थानमा बहुजन एकता पार्टीका उमेशकुमार सदाले १२५ मत पाएका थिए । अन्य उम्मेदवारले ५४ मतमै सीमित थिए ।
माओवादी केन्द्रका उम्मेदवार सुनिल कापर पनि घरदैलो सकाइसकेका छन् । उनले आफ्नो पक्षमा माहोल बनाउन भेटघाटलाई तीव्रता दिएको बताए । उनले भने, ‘घरदैलो सकाएपछि भेटघाट जारी राखेको छु । आफूले समाजमा दिएको योगदान सम्झाउने र जितेपछि अगामी दिनमा गर्ने कामबारे बुझाउने प्रयास गर्दैछु ।’
उनले आफ्ना एजेण्डा भएका चुनावी पर्चा छपाएका छैनन् । उनले भने, ‘विगतमा एजेण्डा पत्र लिएर जानेहरुले काम गर्न सकेनन् । म गर्न नसक्ने कुराको झुटो आश्वासन बाँड्ने पक्षमा छैन ।’
यस वडामा माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा एकीकृत समाजवादीको साथ छ । एकीकृत समाजवादीबाट मनोनयन दर्ता गराएका गोपाली साहले माओवादी उम्मेदवार कापरलाई समर्थन गरी उम्मेदवारी फिर्ता लिएको थियो ।
विगतका दुईपटकको निर्वाचन परिणामले वडा नम्बर १ कांग्रेसको आधार किल्ला मानिन्छ । कांग्रेसलाई बिरासत जोगाउन सकस देखिएको छ ।
जसपा नेपालका उम्मेदवार अजयकुमार यादवले पनि घरदैलो सकाएर व्यक्तिगत तवरमा भेटघाटलाई निरन्तरता दिएका छन् ।
आ–आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन नेताहरुले दौडधुप बढाएको छ । विगतको चुनावी अंकगणितले यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।