जनकपुरधाम ।

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत धनुषाको धनुषाधाम नगरपालिकामा नेकपा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित भएका छन् ।

करिब तीन दशकदेखिको कांग्रेसको वर्चस्वलाई तोड्दै धनुषाधाम नगरपालिका– १ मा माओवादीका उम्मेदवार सुनिल कापर ६८४ मतले निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोक कुमार मण्डलले ६०२ मत प्राप्त गरेका छन् ।

त्यस्तै जसपा नेपालका अजयकुमार यादवले ४९९ मत र नेकपा एमालेका प्रमोद यादवले ४६५ मत प्राप्त गरेका छन् ।

धनुषाधाम नगरपालिका– १ मा सुनिल कापरलाई नेकपा एकीकृत समाजवादीले आफ्नो उम्मेदवारको उम्मेदवारी फिर्ता लिदैँ समर्थन गरेको थियो । धनुषाधाम– १ मा २२५८ मतदान भएको थियो ।

यस वडा कांग्रेसबाट वडाअध्यक्षमा विश्वनाथ यादवले निर्वाचित भएका थिए । उनको निधन भए पछि यस वडामा उपनिर्वाचन भएको हो ।