जनकपुरधाम ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुंगले कांग्रेस–एमाले गठबन्धनको सरकारको कारण देश संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

जनकपुर विमानस्थलमा आज संचारकर्मीहरुसंग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेका महासचिव गुरुंगले वर्तमान सरकारको रबैयाले मुलुकमा डेमोक्रेसी र शान्ति सम्झौताको जगमा निर्माण भएको संविधान नै खतरामा रहेको बताए ।
उनले संविधानको रक्षाको सवालमा केपी ओली नेतृत्वको सरकार गम्भीर नरहेको भन्दै संविधानमाथि खतरा कायमै रहेको भन्दै चिन्ता व्यक्त गरे ।

महासचिव गुरुंगले सरकारमा रहेका घटक दलले संविधान संशोधनको गफ ल्याएर संविधानमाथि खतरा मडारिएको आरोप लगाए । राष्ट्रियता, राष्ट्रिय अस्मिता, विदेशी शक्तिको चलखेलका कारण मुलुकमा अस्थिरता निम्त्याउने र विदेशी शक्ति केन्द्रको अखाडा स्थल बनाइ क्रीडास्थलको रुपमा परिणत गर्ने दाउमा रहेको आरोपसमेत लगाए । जसको कारणले गर्दा मुलुकको लोकतन्त्र र राष्ट्रियता संकटमा रहेको उनले प्रस्ट्याए ।

मुलुकमा अहिले अराजकता बढेको, मनलाग्दो जुनसुकै आरोपमा पक्राउ गरी फसाउने गरेको, विकृति, विसंगति,महँगी र भ्रष्टाचार मौलाएको बताउँदै महासचिव गुरुंगले भने, ‘मुलुकमा विकृति, विसंगति, भ्रष्टाचार र भ्रष्टाचारी बढेको छ । यसको संरक्षणमा सरकार आफै पनि लागेको छ, भष्टाचार गर्नेलाई सरकार आफैले संरक्षण गर्ने हरसम्भव प्रयास गर्ने गरेको, भ्रष्टाचार र भ्रष्टाचारविरुद्ध बोल्नेमाथि प्रतिशोध साध्ने गरेको, भ्रष्टाचार गर्नेलाई कानुनी कारबाहीको साटो ढाकछोप गर्नेलगायतका गतिविधिले मुुलुक ध्वस्त हुने अवस्थामा पुगेको छ ।’

महासचिव गुरुंगले मुलुकलाई अहिलेको सरकारले ध्वस्त बनाउने खेलमा लागेको आरोपसमेत लगाए । ओली सरकारले देशलाई डुबाउनका लागि कुनै पनि कसर नराखेको चर्चा गर्दै सरकारले ऋणमाथि ऋण लिनेमै व्यस्त रहेको बताए । उनले विकृति, विसंगति, महँगी, भ्रष्टाचारलगायतका विरुद्ध सबै दलहरु मिलेर सरकारको भण्डाफोर गर्नुपर्ने बताए ।

उनले माओवादीले सडक र सदनबाट पनि खबरदारी गर्दै सरकारलाई दबाब दिने, गलत कामको विरोध गर्ने र भ्रष्टाचारलगायतका एजेण्डामा सबै दलहरु एकजुट भएर अघि बढ्नु पर्ने बताए ।

त्यस्तै महासचिव गुरुंगले समाजवादी मोर्चामा जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जसपालाई पनि सामेल गरिने बताए । उनले जसपा नेपाल आन्तरिक कारणले टुटफुटको समस्या झेलिरहेकाले मोर्चाबाट टाढा रहे पनि सम्पर्कमै रहेको बताए । उनले लामो समयदेखि मोर्चाको बैठकमा सहभागी नभए पनि जसपा नेपाल र जसपा सम्पर्कमै रहेको बताए । उनले समाजवादी मोर्चालाई प्रभावकारी ढंगले अघि बढाउनेमा आफूहरु गम्भीर रहेको बताए ।

त्यस्तै महासचिव गुरुंगले माओवादीले स्थानीय तहको उपनिर्वाचनमा बढी मत ल्याए पनि ०८४ मा हुने निर्वाचनका लागि राम्रो नतिजा ल्याउने संकेत देखिएको बताए ।

मधेश प्रदेशमा माओवादी भित्र रहेका समस्यालाई पार्टीले गम्भीर रुपमा लिएको भन्दै महासचिव गुरुंगले समस्याको समाधान गर्न आफूहरु तत्पर रहेको बताए । समयमै पार्टी भित्रका आन्तरिक समस्याहरु समाधान नगरिएमा आउने दिनमा क्षति हुनेमा आफूहरुले गम्भीरतापूर्वक लिएको बताए ।

महासचिव गुरुंग सिरहामा माओवादी केन्द्रको आयोजनामा भएको तीन दिवसीय प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा सहभागी भएर बुधबार नै काठमाण्डौ फर्केका छन् ।