जनकपुरधाम ।

सीताराम विवाह पञ्चमी महोत्सवको वैवाहिक कार्यक्रम सम्पन्न भएको छ भने आज राममकलेवासंगै जन्तीको विदाइ हुनेछ ।
सीताराम विवाह महोत्सवको सर्वाधिक महत्वपूर्ण सीता स्वयम्वर र वैवाहिक कार्यक्रम शुक्रबार राति सम्पन्न भएको छ ।

शुक्रबार बाजागाजा सहित स्वयम्वरका लागि जानकी मन्दिरबाट माता सीताको डोला रंगभूमीबाह«बिघा) मैदानका लागि प्रस्थान गरेको थियो । जानकी मन्दिरको डोला रंगभूमि मैदानमा पहिले पुग्ने चलन छ । बिहानैदेखि जानकी मन्दिरमा विशेष पूजा गरिएको थियो । श्रद्धालुहरुले डोला प्रस्थान गर्ने समय सम्म पूजा गरेका थिए ।

डोलासँगै श्रद्धालुहरु रंगभूमि मैदानमा पुगेर सीता स्वयम्वरको अलौकिक दृश्यको दर्शन गरेका थिए । रंगभूमि मैदानमा जानकी मन्दिरको डोला पुगेको केहि बेरपछि राम मन्दिरको डोला बजागाजा जन्तीसहित रंगभूमि मैदान पुगेको थियो । भगवान रामको डोलासँग अयोध्याबाट आकएका जन्ती पनि सहभागी भएको थियो । रंगभूमि मैदानमा भगवान सीतारामको स्वयम्वर भएको थियो । मिथिला परम्परा अनुसार गरिएको स्वयम्वरमा जानकी मन्दिरको डोलालगायत मठमन्दिरका डोलाहरुले भगवान रामको डोलाको परिक्रमा गरेका थिए ।

त्रेता युगमा भगवान सीतारामको स्वयम्वर रंगभूमि मैदानमा हुँदा देवताहरुले आकाशबाट पुष्पवृष्टि गरेका थिए । रामायणमा वर्णन गरिए अनुसार धनुषयज्ञको दिव्य दर्शन गर्न देवीदेवताहरु जनकपुरधाममा आएका थिए । भगवान रामले धनुष भंग गरेपछि आकाशबाट पुष्पवृष्टि गरिएको थियो । भगवान शिवको पिनाक(धनुष)लाई रावण लगायतका राजाहरुले हल्लाउन समेत सकेका थिएनन् । साँझ सीता स्वयम्वर सम्पन्न भएपछि रंगभूमि मैदानबाट भगवान राम, सीतालगायतको डोलाहरु नगर परिक्रमा गर्दै जानकी मन्दिर पुगेको थियो । जानकी मन्दिरमा डोला पुगेपछि वैवाहिक कार्यक्रम विधिविधानपूर्वक सम्पन्न भएको छ ।

मिथिलाको संस्कृति, रीतिरविाज, परम्परा र विधिविधान अनुसार नै भगवान सीतारामको विवाह सम्पन्न भएको उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए । वैवाहिक कार्यक्रममा अयोध्या राम मन्दिर ट्रष्टका सचिव चम्पत्त राय, विश्वहिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंह ‘पंकज’ लगायतका सन्तमहन्तहरुको सहभागिता थियो । वैवाहिक कार्यक्रममा मिथिलानीहरुले अयोध्याका जन्ती र भगवान रामका दुई पुस्तालाई संगीतमय गाली सुनाएका थिए । सनातन धर्मावलम्बीहरुमा मात्र नभइ अन्य धर्मावलम्बीहरुमा पनि भगवानलाई गाली गरिदैन । तर भगवान रामको मातापिता समेतलाई गाली गर्ने विशिष्ट परम्परा जनकपुरधाममा मात्र रहेको छ ।

त्रेता युगमा भगवान रामसहित चारै दाजुभाइको विवाह एकसाथ भएको थियो । जन्तीमा आएका अयोध्याका महराज दशरथ, गुरु पुरोहितलगायतका जन्तीहरुलाई भाँतीभाँतीको गाली दिएर मैथिलानीहरु मनोरञ्जन गरेका थिए । मिथिलाकी नारीको मधुर गाली सुनेर महराज दशरथलगायतका अयोध्यावासीहरु मुग्ध भएका थिए । त्यो बेलादेखि नै विवाहमा गाली दिने चलन चलेको मान्यता छ । मैथिलानीहरुले भगवान रामसहित उनका मातापिता, गुरु लगायत अयोध्यावासीलाई हासपरिहाससहित गाली गरेको वर्णन गरिएको छ ।

मिथिलाकी युवराज्ञी सीताको विवाह भए पश्चात पनि लामो समय जन्तीहरु जनकपुरधाममा नै बसेका थिए । विवाहपछि जन्ती बेहुली सीतालाई लिएर अयोध्या प्रस्थान गर्दा राजा जनकले विदाइ गरेका थिए । त्यसको संस्मरण गर्दै अयोध्याबाट आएको जन्तीको सम्मानमा शनिबार जानकी मन्दिरमा रामकलेवा गरिनेछ । रामकलेवामा जन्तीलगायत श्रद्धालुहरुलाई मिथिलाको विशिष्ट परिकारसहितको भोजन गराइनेछ । साधु परम्परा अनुसार जन्तीलाई वस्त्र र नगद विदाइ गरिने छ ।