जनकपुरधाम ।

धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामवति मण्डललाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ ।

कांग्रेसको विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै नेपाली कांग्रेस धनौजी गाउँपालिका गाउँ कार्य समितिले पार्टीबाट निष्कासन गरी कारबाही गरिएको गाउँ सभापति रामनारायण यादवले जानकारी दिए ।

कांग्रेस पार्टीको सदस्यसमेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष मण्डललाई कारबाही स्वरुप पार्टीबाट निष्कासनका लागि विभिन्न समितिमा पत्राचार समेत गरिएको छ ।

कांग्रेस धनौजी गाउ कार्य समितिको निर्णय अनुसार उपाध्यक्ष रामवति मण्डलमाथि पार्टीको तर्फबाट कारबाही गर्नका लागि गाउ सभापति रामनारायण यादवले पार्टीको प्रदेश कार्यालय, जिल्ला समितिको कार्यालय र क्षेत्र नम्बर ३ को कार्यालयलाई पत्र पठाएको छ ।

उनलाई मंसिर २२ गते बसेको नेपाली कांग्रेस धनौजी गाउँ कार्य समितिको बैठकबाट पार्टीबाट निष्कासनसहितको कारबाही गर्ने निर्णय गरेको थियो ।

पालिका उपाध्यक्ष मण्डलले आफ्नै पार्टीका धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साहविरुद्ध विभिन्न गतिविधि गर्दै आएकी थिइन् ।

उनले पालिका अध्यक्ष साहलाई असहयोग गर्दै अनियमितता र अपारदर्शीता कार्यशैलीको आरोप लगाउँदै आएकी छन् ।