जनकपुरधाम । आसन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादी आन्दोलनमा प्रत्यक्ष संलग्न रहेका नेताहरुले सिन्धुली क्षेत्र नम्बर२ मा विद्रोह गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वसांसद लेखनाथ दाहाललाई जिल्ला पार्टीले सिफारिस गरेको विपरीतका व्यक्तिलाई आधिकारिक उम्मेदवार घोषणा गरेपछि नेता हरिबोल गजुरेल पक्ष असन्तुष्ट छन् । युद्ध पत्रकार महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गजुरेलले पार्टी नेतृत्वकै विधि–पद्धति उल्लंघनका कारण विद्रोह अपरिहार्य बनेको दाबी गरेका छन् ।
पार्टीभित्रको विद्रोह भएको भन्दै विधि र पद्धतिका लागि विद्रोह गरिएको गजुरेलको भनाइ छ । लेखनाथ दाहाल सिन्धुली–१ बाट सिफारिस भएका भए पनि टिकट सिन्धुली–२ मा ‘सिफारिस बिना’ दिइएको आरोप छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालले महेश्वरको उम्मेदवारी फिर्ता गरी आधिकारिक उम्मेदवारलाई सहयोग गर्न विशेष निर्देशन जारी गरेका थिए । तर निर्देशनमा गजुरेल प्रस्तावक रहेको उल्लेख गर्दै ‘अनधिकृत’ मनोनयन फिर्ता लिन भनिएको छ ।
तर गजुरेल उल्टै संयोजककै निर्णयलाई सवाल गर्दै भनेका छन्, ‘जसले विधि, पद्धति उल्लंघन ग¥यो, उसैलाई कारबाही हुनुपर्छ । हामीले विधिअनुसार महेश्वरलाई सिफारिस गरेका छौं ।’ बागी उम्मेदवार महेश्वर दाहालले ‘हुकुमी प्रमांगी’का निर्णयलाई नमान्ने घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका महेश्वर दाहाल माओवादी युद्धका बेला परिवार नै संलग्न भएका ब्यक्ति हुन् । उनका बुवा असारे काकाको उपनामले चिनिने अग्रज हुन् ।
यता सिन्धुली– २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता महेश्वर दाहालले आफ्नो कदम कुनै बार्गेनिङका निम्ति नभएको बताए ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्– ’हाम्रो यो अहिलेको कदम कुनै बार्गेनिङका निम्ति, केही पद हत्याउनका निम्ति अथवा कुर्सीमा जानका लागि चालिएको कदम बिल्कुल होइन। यो त पद्धतिविहीन बनेको, पथभ्रष्ट भएको, राजनीतिक चरित्रबाट तल गिरेको नेतृत्वको विरूद्धको बगावत हो ।’
उनी मुढा चिह्नबाट चुनाव लड्दै छन् ।
