जनकपुरधाम । राष्ट्रियसभा सदस्यका लागि आज भएको निर्वाचनमा एमाले–कांग्रेस–जसपा नेपाल गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार सात वटै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस–जसपा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनपछि एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भइन् ।

त्यस्तै मधेश प्रदेशमा महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झा, अल्पसंख्यक क्लस्टरमा कांग्रेसका रञ्जित कर्ण, दलित क्लस्टरमा कांग्रेसका धर्मेन्द्र पासवान र अन्यतर्फ महन्थ ठाकुर निर्वाचित भए ।

त्यस्तै बागमती प्रदेशबाट महिला क्लस्टरमा कांग्रेसकी गिता देवकोटा र अन्य क्लस्टरमा उम्मेदवार बन्नुभएका एमालेका डा. प्रेम प्रसाद दंगाल निर्वाचित भए ।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट अन्यमा कांग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा निर्वाचित भए ।

त्यस्तै लुम्विनीबाट एमालेकी रामकुमारी झाँक्री महिला कोटाबाट, अपांगता कोटामा कांग्रेसका बासुदेव घिमिरे र अन्य समूहको कोटामा काग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भए ।

त्यस्तै कर्णालीबाट अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित भएकी छन् ।

त्यस्तै सुदूरपश्चिमबाट महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी र खुल्लातर्फ कांग्रेसका खम्मबहादुर खाती निर्वाचित भए ।

राष्ट्रियसभा निर्वाचन सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । सातै प्रदेशमा कुल २०११ मतदाता रहेकामा १९२४ मतदान भएको थियो ।