जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाह आज साँझ जनकपुरधाम आइपुगेका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा भएको पूर्वराजा शाहको जनकपुरधाम भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनको भ्रमण हुनु केही दिन अघि पारस शाह जनकपुरधाममा आएका थिए । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहसमेत जनकपुरधामस्थित यात्री निवासमा बास बसेका थिए । त्यसक्रममा उनीहरुबीच लामो कुराकानी भएको बताइन्छ ।

त्यतिबेला रास्वपाले जनकपुरधामबाट मूल मधेशी बालेनलाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै चुनावी यात्रा शुरु गरेको उद्घोष गरेको थियो ।

पारस शाहको भ्रमणपछि भइरहेको पूर्वराजा शाहको भ्रमण सोमबार हुने छ । जसको समयोजन राप्रपाले गरिरहेको छ ।

उनी सोमबार दिउँसो जानकी मन्दिरमा पूजा अर्चना, राम मन्दिर दर्शन तथा पैदल मार्च गर्ने कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी धनुषाले जनाएको छ ।

उक्त कार्यक्रममा पूर्वराजा शाह र उनका परिवारका सदस्यहरूले जानकी मन्दिर, राम मन्दिर र राजदेवी माताको मन्दिरमा पूजा आराधना गर्ने छ ।