गौर । रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामामाथि हातपात गरिएको छ भने उनको सवारी साधनसमेत तोडफोड गरिएको छ । उपमेयर लामाले उक्त घटनामा मेयर सन्तलाल प्रसाद चौधरी निकट व्यक्तिहरूको संलग्नता रहेको गम्भीर आरोप लगाएकी छन् भने मेयर पक्षले भने आरोप अस्वीकार गरेको छ ।
सोमबार साँझतर्फ गजुरा नगरपालिका कार्यालयमा आफू बसिरहेको अवस्थामा करिब २५ जना महिलाको समूह आएर आफूलाई भुइँमा लछारपछार गर्दै कुटपिट तथा दुव्र्यवहार गरेको उपमेयर लामाले बताइन् । उनले उक्त समूहमा वडा– ५ का सचिव प्रभु नारायण चौधरीकी श्रीमती देवकी चौधरी र छोरी पुनम चौधरी समेत सहभागी रहेको आरोप लगाइन् ।
उपमेयर लामाले यो घटना सुनियोजित रहेको दाबी गर्दै मेयर चौधरीको इशारामा उनका नजिकका मानिसहरूले आक्रमण गरेको आरोप लगाइन् ।
उपमेयर लामाका अनुसार कार्यालय पुग्नुअघि नै उनको सवारी साधनलाई लक्षित गर्दै तोडफोड गरिएको थियो । प्रदेश २–०३–००१ झ ००२१ नम्बरको गाडी गुजरा–१ र ९ को सिमानास्थित लमाहा खोला नजिक रोकेर मेयरका आफन्तहरू — मनोज चौधरी लगायतले क्षति पु¥याएको उनको दाबी छ ।
उनले भनिन्, “नगरपालिकाका एक कर्मचारीमार्फत मेरो गाडी चालकसँग फोन गरेर म कहाँबाट, कति बेला आउँदैछु भन्ने जानकारी लिइएको थियो। त्यसपछि योजनाबद्ध रूपमा घटना घटाइएको हो ।”
घटनाको पृष्ठभूमिमा मलखाद वितरणको विषय जोडिएको देखिन्छ । उपमेयर लामाका अनुसार वडा– १ मा सहकारी संस्थामार्फत किसानलाई मलखाद वितरण भइरहेको थियो । तर मेयर चौधरीका आफन्तहरूले नयाँ डिलर दर्ता गर्नुपर्ने भन्दै पुराना डिलरबाट मल नलिन दबाब दिँदै आएका थिए ।
आफूमाथि भएको दुव्र्यवहार र गाडी तोडफोडबारे इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा लिखित उजुरी दिने तयारी गरेको उपमेयर लामाले जानकारी दिइन् ।
गुजरा नगर कार्यपालिका सदस्य विजय साह बानियाँले पनि घटनामा मेयर निकट व्यक्तिहरूको संलग्नता रहेको आरोप लगाउँदै दोषीमाथि कारबाही नभए भविष्यमा यस्ता घटना दोहोरिन सक्ने चेतावनी दिएका छन् ।
यता मेयर सन्तलाल प्रसाद चौधरीले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताए । उनका अनुसार किसानले समयमा मलखाद नपाएको आक्रोशका कारण स्थिति तनावपूर्ण बनेको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डीएसपी रुपा लाबुङले घटनाबारे मौखिक जानकारी प्राप्त भएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइन् ।
उपमेयर लामा कांग्रेसबाट निर्वाचित हुन् ।
