जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा चार हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको छ । मधेश प्रदेशको ८ वटै जिल्लामा ४ हजार ४७१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सफल बनाउन मधेश प्रहरीले निर्वाचन सुरक्षा योजना तयार पारेको छ । मधेशको ८ वटै जिल्लाका मतदान स्थल निरीक्षणपछि प्रहरीले सुरक्षा चुनौतीको अवस्थाका आधारमा सो क्षेत्रलाई तीन भागमा बाँडेको छ ।
विगत झैँ यसपटक पनि सुरक्षा चुनौतीको दृष्टिकोणले मतदान स्थललाई प्रहरीले सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार ८ वटै जिल्लाका कुल मतदान केन्द्रमध्ये सुरक्षा चुनौती रहेका स्थलहरूलाई तीन भागमा वर्गीकरण गरी सोही अनुरुप सुरक्षा रणनीति तयार पारिएको प्रदेश प्रहरीले जनाएको छ । सुरक्षा चुनौती भएको केन्द्रलाई अति संवेदनशील र नभएको ठाउँको मतदान स्थललाई सामान्य वर्गीकरणमा राखिएको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरीका अनुसार मधेशका एक हजार २३७ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ । प्रदेशका ८ वटै जिल्लाका सुरक्षा समितिको अनुसार अति संवेदनशील वर्गीकरण गरिएको मधेश प्रहरीका डीआइजी गोविन्द थपलियाले जानकारी दिए । उनले ८ वटै जिल्लामा कुल १६० मतदान केन्द्रलाई मात्रै सामान्य वर्गीकरणमा राखिएको बताए ।
त्यस्तै मधेश प्रदेशको पर्साबाहेक सात वटै जिल्लाका विभिन्न मतदान केन्द्र अति संवेदनशील वर्गीकरण गरिएको छ । सुरक्षाको दृष्टिकोणले सप्तरीको मतदान केन्द्र सबैभन्दा बढी ‘रेड जोन’मा राखिएको छ ।
सप्तरीको २९६ मतदान स्थलमध्ये २०९ वटा मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
त्यस्तै सिराहाका १५४, धनुषाका १९४, महोत्तरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ र बाराका १४५ मतदान स्थल अति संवेदनशील सूचीमा राखिएको मधेश प्रहरीले जनाएको छ ।
प्रदेशका ८ वटै जिल्लामा ७६३ वटा मतदान स्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । सर्लाहीमा सबैभन्दा बढी १३१ मतदान स्थल संवेदनशील सूचीमा रहेको जनाइएको छ ।
एकीकृत सुरक्षा योजना अनुसार अति संवेदनशील, संवेदनशील र सामान्य मतदान स्थलमा सुरक्षाकर्मीको व्यवस्था गरिने मधेस प्रहरी प्रमुख थपलियाले बताए ।
सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतदान स्थलमा सोही अनुसार प्रहरी परिचालन गर्ने रणनीति तयार पारिएको छ । ८ वटै जिल्लामा व्यापक संख्यामा नेपाल प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र सेना परिचालन गरिने तयारी गरिएको छ । सुरक्षाका तीन वटै निकायबाट गरी मधेश प्रदेशमा ५० हजारभन्दा बढी संयुक्त सुरक्षा फौज खटाइने तयारी गरिएको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
मधेशका ८ वटै जिल्लामा करिब ४० हजार नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने तयारी गरिएको मधेश प्रहरीले जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरीबाट १० हजार प्रहरी खटाउने तयारी गरिएको सशस्त्र प्रहरी बल मधेश प्रदेशले जनाएको छ ।
