जनकपुरधाम । मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुनावलाई निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि हरेक राजनीतिक दलहरूले निर्वाचन आचार सहिताको पालना गर्नु पर्ने बताएका छन् ।

जनकपुरधाममा सोमबार एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले निर्वाचन आचार सहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयमा आयोजना कार्यक्रममा सो कुरा बताए ।

उनले राजनीतिक दलको सहमतिमा नै तयार भएको निर्वाचन आचार संहिता २०८२ हरेक व्यक्तिले पालना गरेको खण्डले यसले निर्वाचनमा हुने अनावश्यक खर्चमा नियन्त्रण भएर दीर्घकालमा मुलुकमा सुशासन स्थापनामा ठूलो मद्दत पुग्ने बताए ।

मुख्यमन्त्री यादवले निर्वाचनमा हुने गरेको अत्यधिक खर्चका कारणले राम्रो उम्मेदवारलाई चुनावमा भाग लिनमा समस्या हुने गरेको बताए । उनले विगत भन्दा अहिले निर्वाचनमा आचार संहिता उल्लङ्घनका घटनामा कमी हुन थाल्नु सुःखद भएको बताए ।

त्यस्तै निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन सम्शेर जवराले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र तथा धाँधलीरहित रूपमा सम्पन्न गर्नका लागि राजनीतिक दलहरूको सहमतिमा नै निर्माण भएको निर्वाचन आचार सहिताको पालना हरेकले गर्नु पर्ने बताए ।

निर्वाचनलाई कम खर्चिलो तथा तडकभडक मुक्त बनाउनका लागि निर्वाचनमा भाग लिने दल तथा तीनका उम्मेदवार मात्र होइन आम नेपाली नागरिकले आचार सहिताको पालना गर्नु पर्ने उनको भनाइ छ ।