जनकपुरधाम । मिथिलाको महाकुम्भ अर्थात १५ दिने मिथिला माध्यमिकी परिक्रमा धनुषाको मिथिलाविहारी नगरपालिकास्थित कचुरीबाट डोला निकालिएसंगै आजदेखि विधिवत रूपमा शुरू भएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित कचुरीको मिथिला विहारी मन्दिरबाट झाँकी, कीर्तनसहित मुख्य डोला निकालिएको छ ।

उक्त परिक्रमा १५ दिनसम्म चल्नेछ भने यसमा हजारौं साधुसन्त तथा श्रद्धालुहरू पदयात्रामा सहभागी हुने गर्छन् । सो पद यात्राले कूल १ सय ३३ किलोमिटर दूरी तय गर्दै नेपाल– भारतका विभिन्न पवित्र ठाउँहरू पार गर्नेछ ।

अठारौं शताब्दीदेखि चल्दै आएको मिथिला माध्यमिकी परिक्रमा परम्परागत रुपमा मिथिला महात्म्य ग्रन्थमा आधारित रहेको छ ।

उक्त परिक्रमा १५औं दिन जनकपुरधाममा अन्तर्गृह परिक्रमा (पञ्चकोशी) पूरा गरेपछि समापन हुन्छ र त्यसको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने प्रचलन छ ।