मलंगवा । सर्लाहीको मलंगवामा आइतबार साँझ एक जना सब–इञ्जिनियरको गोली हानी हत्या भएको भन्दै सो घटनामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।

यसबीच हत्याको विरोध गर्दै सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा बन्द गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग समेत गरेका छन् ।

सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जनाए अनुसार गोली प्रहार गर्ने पत्ता लगाउन सिसी क्यामेरामा कैद तस्बिरलगायतको पड्ताल भइरहेको छ । उनले छिट्टै संलग्नलाई कानुनी दायरामा ल्याउने बताए ।

सिरहाको सुखीपुर नगरपालिका ६ स्थित बैशखागाउँ निवासी ३६ वर्षीय प्रमोदकुमार यादव सर्लाही जिल्ला मलंगवा नगरपालिका–१० देवीटोल स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए । आइतबार साँझ उनलाई मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले घर बाहिर बोलाएर गोली प्रहार गरेका थिए। यादवको देब्रे छातीमा गोली लागेको थियो ।

उनी मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इञ्जिनियर पदमा कार्यरत थिए ।

गोली प्रहारबाट गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पताल पु¥याएसंगै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी राईले बताए ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट दुई किलोमिटर उत्तरतर्फ पर्छ । रातिदेखि नै सर्लाही प्रहरीले दोषीको खोजी कार्यलाई तीव्र पारेको जनाएको छ । मलंगवाका विभिन्न नाकाहरूमा सुरक्षा जाँच कडा पारिएको छ भने शंकास्पद क्षेत्रहरूमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।