वीरगञ्ज । रौतहटको गौरमा दुई समुदायबीचको दंगा सेलाउन नपाउँदै पर्साको वीरगञ्जमा पनि फैलिएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिकामा पछिल्ला सुरक्षा चुनौती बढेपछि स्थानीय प्रशासनले सोमबार बिहानदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले बिहानदेखि लागू हुने गरी महानगरका संवेदनशील मुख्य क्षेत्रहरूमा कफ्र्यु लगाएको जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्म सर्वसाधारणको आवतजावत, भेला तथा सार्वजनिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको उल्लेख छ ।
स्थानीय प्रशासनले कफ्र्यु लागू हुने क्षेत्रको चार किल्ला समेत निर्धारण गरिएको छ ।
आदेशअनुसार पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल भारत सीमास्थित शङ्कराचार्य गेटभित्र पर्ने सम्पूर्ण भूभागमा कफ्र्यु लागू गरिएको छ ।

उक्त सीमाभित्र जुलुस, सभा सम्मेलन, बैठक, घेराउ लगायतका गतिविधि गर्न निषेध गरिएको जनाइएको छ ।
कफ्र्युका बाबजुद अत्यावश्यक सेवाहरू सञ्चालनमा सहजीकरण गरिने छ ।
पछिल्ला केही घटनाक्रमले वीरगञ्जमा सुरक्षा चुनौती बढेको र सामाजिक सद्भावमा असर पर्ने सम्भावना देखिएकाले कफ्र्यु लागू गर्नुपरेको प्रशासनले जनाएको छ ।
