जनकपुरधाम । धनुषा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवारहरु मध्ये एकजनामाथि ‘कालो सूची’ खतराको घण्टी बज्दै छ ।
रास्वपाबाट धनुषा– १ का प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार किशोरी साहमाथि कालो सूचीको संकटले तनावमा छन् ।
उनी कालोसूचीमा रहेकाले ऋण नतिरे निर्वाचन कार्यालयमा उजुरी दिने साहुकारले जनाएका छन् । धनुषा जिल्लाकै एकजना साहुकारले १ करोड २५ रुपैयाँको चेक बाउन्स गराएका छन् ।
यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएको बेला धनुषा क्षेत्र नं. १ को चुनावी माहोल नै अर्कैतर्फ मोडिएको छ । रास्वपाका उम्मेदवार कालोसूचीमा रहेको पाइएपछि निर्वाचन कानुनी र नैतिकताको प्रश्न पनि तेर्सिएको छ ।
रास्वपा उम्मेदवार किशोरी साह कर्जा सूचना केन्द्रको चेक बाउन्स र निर्माण सेवाको कालोसूचीमा रहेको तथ्य बाहिरिएसंगै उनको उम्मेदवारी नै खारेज हुन सक्ने निर्वाचन कार्यालयले जनाएपछि अहिले धनुषा क्षेत्र नम्बर १ को राजनीति तरंगित बनेको छ ।
विकास र समृद्धिको नारासहित घरदैलो गरिरहेका उम्मेदवारमाथि चेक बाउन्स, बैंकिङ कालोसूची र वर्षौंदेखि अलपत्र पूर्वाधार योजनाका आरोप एकैसाथ उठेपछि धनुषा–१ का मतदाताहरुले पनि रास्वपामाथि प्रश्न गर्न थालेका छन् ।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधारक रहेका किशोरी साह २०८० वैशाखदेखि कालोसूचीमा देखिएका छन् । विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख गरिएको छ ।
कर्जा सूचना केन्द्रको फागुन ५ गतेसम्मको अद्यावधिक रिपोर्ट र कालोसूचीको नामसूची अनुसार कमला निर्माण सेवा प्रालिका सेयर होल्डर किशोरी साहको नाम ४ ठाउँमा रहेको छ । सो सूचीमा उनकी श्रीमती अँजिला साह र किशोरी साहको संयुक्त नाम कालोसूचीमा रहेको पाइएको छ ।
क्रम संख्या ३८६३५ र कालोसूची नं. ६४२४५ मा सुरुमा कालोसूचीमा परेका छन् । उनको नाम निरन्तर कालोसूचीमा रहेको पाइएको छ । २०८० असोज १७ गते कमल निर्माण सेवाको तर्फबाट उम्मेदवार किशोरी साह कमल र संजीत कुमार साहको नाम उल्लेख गरिएको छ । त्यसपछि क्रम संख्या ५२७४६, ५२७५० को कालोसूची नं. क्रमशः ८६३९१ र ८६३९६ मा छ ।
२०८० असोज २१ गतेमा कमल निर्माण सेवा प्रालिबाट किशोरी साह र राजकिशोर महासेठको नाम उल्लेख रहेको छ । क्रमसंख्या ५३१०४ मा कालोसूची नं. ८६९३० मा कालोसूचीमा परेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०८२ को १६ मा रहेको उम्मेदवार अयोग्य ठहरिने परिच्छेदको (ज) मा ‘प्रचलित कानुन बमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर’ उल्लेख गरिएको छ । कालोसूचीमा रहेको पाइएमा उजुरीको आधारमा छानबिन गरी उम्मेदवार अयोग्य ठहरिने उल्लेख छ ।
चेक बाउन्ससम्बन्धी मुद्दा परेपछि बैंकिङ प्रणालीबाट कालोसूचीमा राखिएको केन्द्रले जनाएको छ । कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरले भने, ‘अद्यावधिक रिपोर्टमा कालोसूची देखिए त्यसलाई आधिकारिक मान्नुपर्छ ।’
मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले प्रमाणसहित उजुरी परेको ७ दिनभित्र स्पष्टीकरण मागी छानबिन प्रक्रिया अघि बढ्ने जानकारी दिए । त्यसपछि अयोग्यता सम्बन्धी निर्णय हुन सक्ने उनको भनाइ छ ।
यता १ करोड २५ लाख रुपैयाँको चेक बाउन्स भएका एक ऋणीले रकम फिर्ता नदिए निर्वाचन कार्यालयमा उजुरी दिने चेतावनी दिएका छन् ।

निर्माण व्यवसायीसमेत रहेका किशोरी साहको नाममा धनुषाका केही ठेक्का योजनामा ढिलाइ र अलपत्र पारेको आरोप छ । पुल अधुरा निर्माण गरेको भन्दै युवाहरुको एक समूहले केही दिन अघि उम्मेदवार किशोरी साहको विरोधमा नारावाजी समेत गरेका थिए ।
क्षीरेश्वरनाथ नगरपालिका–७, इच्छापुरस्थित जलाद नदीको सहजा खोलाको २०७४ असार १९ गते १२ करोड ३५ लाख ६३ हजार २२४ रुपैयाँमा ठेक्का लागेको १२० मिटर लामो पुल दुई वर्षमै सक्ने लक्ष्य थियो। तर म्याद थपिँदै गएपनि हालसम्म काम अलपत्र रहेको छ ।
डिभिजन सडक कार्यालय जनकपुरका कार्यालय प्रमुख इञ्जिनियर सीडीई दारोगा प्रसादले जनाए अनुसार ठेकेदारको लापरबाहीले पुल निर्माणको काममा ढिलाइ भएको छ ।
ठेक्का सकार गरेको अढाई वर्षमा बन्नुपर्ने पुल सात वर्षमा पनि नबनेपछि स्थानीयले तत्काल पुल निर्माणको माग गर्दै पटक–पटक दबाबका कार्यक्रम गर्दै आएका छन् ।
सहजा खोलासँगै डुमरिया खोला पुल निर्माणको पनि दुई वर्षमै सम्पन्न गर्ने २०७५÷०७६ मा ठेक्का लिएको सो खोलाको काम पनि बाँकी नै रहेको छ ।
त्यस्तै हुलाकी राजमार्ग अन्तर्गत जनकपुर–कपटौल सडक पेटी ठेक्कामा लिएर काम नगरेको दाबीसमेत सार्वजनिक भएको छ । काम अधुरै छाडेपछि ठेकेदार मूल निर्माण कम्पनी लामा जेभी कन्स्ट्रक्सले आफै काम सम्हाली रहेको हुलाकी राजमार्ग आयोजना जनकपुरका प्रमुख किशोरी महतोले बताए ।
यस अघि उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी २०७९ मा टिकट नपाएपछि जनमत पार्टीतर्फ लागे, चुनावमा पराजित भए, त्यसपछि पुनः एमाले फर्केका थिए ।
