जनकपुरधाम ।
जेन– जी नेतासमेत रहेका सिभिल इञ्जिनियर सञ्जयकुमार महतोले अहिले धनुषा क्षेत्र नम्बर ४ मा पाका उम्मेदवारहरुलाई चुनौती दिँदै चुनावी अभियानमा व्यस्त देखिएका छन् ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदसयको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का तर्फबाट उम्मेदवार छन् । ‘जेन–जी आन्दोलन नभएको भए यस क्षेत्रमा पनि नेकपाबाट अर्कै कोही उम्मेदवार हुने थिए, होला । तर जेन– जी आन्दोलनको प्रभावमा उनी यस क्षेत्रमा सहजै आम मतदाताका प्रिय उम्मेदवार रहेको दाबी उनका शुभचिन्तक तथा समर्थकहरुले टिप्प्णी गर्न थालेका छन् ।
देशव्यापी रूपमा चर्किएको जेन–जी आन्दोलनले नेपाली राजनीतिमा तरंग नै ल्यायो । भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, दलहरूमा पुस्तान्तरण र निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिताको मागसहित सुरु भएको आन्दोलनले सडकदेखि सदनसम्म दबाब सिर्जना गर्दै निर्वाचन हुँदैछ ।
निर्वाचन आउन अब करिब दुई साताभन्दा कम समय बाँकी छ । सरकार र दलहरू चुनावी रणनीति बनाउन व्यस्त छन् । धनुषा क्षेत्र नम्बर ४ स्थित बजार, चोक र चिया पसलदेखि घर अँगेनामा पनि राजनीतिक दलभन्दा बढी युवा उम्मेदवारको चर्चा चुलिएको छ । सामाजिक सञ्जालमा युवा मतदाताको सक्रियता पनि उल्लेख्य रुपमा बढेको छ ।
आन्दोलनको दबाबपछि केही दलहरूमा पुस्तान्तरणको बहस चर्किए पनि नेपाली कांग्रेसभित्र सीमित रूपमा पुस्तान्तरणको संकेत देखियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायतका ठूला दलहरूको शीर्ष तहमा परिवर्तन भने हुन सकेन । यद्यपि नेपाली कम्युनिष्ट पार्टीले भने नयाँ अनुहार र नवयुवालाई उम्मेदवारी दिएपछि अहिले चर्चा निकै चुलिएको छ ।
कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नयाँ अनुहार ल्याउन नसके पनि नेकपाले भने ३२ वर्षीय सञ्जय कुमार महतोलाई तारा चिह्नबाट उम्मेदवार बनाएपछि धनुषा– ४ मा उनी अन्य दल र उम्मेदवारहरुका लागि चुनौती बनेका छन् ।
इञ्जिनियरिङ पृष्ठभूमिबाट आएका सञ्जय कुमार महतो विकास, पूर्वाधार र सुशासनलाई मुख्य एजेन्डा लिएर मैदानमा उत्रिएका छन् । सञ्जय कुमार महतो भन्छन्, ‘हामीले राजनीति केवल सत्ता र पदका लागि होइन, परिणामका लागि गर्नुपर्छ । इन्जिनियरको रूपमा मैले योजना बनाउने, कार्यान्वयन गर्ने र नतिजा दिने अभ्यास गरेको छु । अब त्यही अभ्यास संसदमा लैजान चाहन्छु ।’
उम्मेदवार सञ्जय कुमार महतोले चुनावी अभियानमा युवा केन्द्रित बनाएको देखिन्छ । घरदैलो कार्यक्रममा उनी बेरोजगारी, शिक्षा र स्थानीय पूर्वाधार सुधारका मुद्दालाई बढी जोड दिएका छन् । घरदैलोको क्रममा उनले घरधनीसंगको कुराकानीमा बढी जोड दिएका छन् ।
रास्वपाबाट यस क्षेत्रमा राजकिशोर महतो उम्मेदवार छन् । उनले पनि कांग्रेस, एमालेलगायतका दलका लागि चुनौती बनेका छन् ।
धनुषा क्षेत्र नम्बर ४ मा विगतभन्दा यसपाली निकै रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ । यहाँ सञ्जय कुमार महतोका मुख्य प्रतिस्पर्धीका रूपमा रघुबीर महासेठ भन्दा नेपाली कांग्रेसका महेन्द्र यादव छन् । कांग्रेसका पूर्व सहमहामन्त्री रहिसकेका यादव मन्त्री भइसकेका छन् भने उनी विगतमा महासेठसंग पराजित भएका थिए ।
२०७४ सालदेखि यस क्षेत्रमा निरन्तर निर्वाचित हुँदै आएका महासेठ संगठन, अनुभव र मत आधारका हिसाबले बलिया उम्मेदवार मानिन्छन् । भने यादवले आफ्नो मुख्य प्रतिस्पर्धीको रुपमा युवा नेता सञ्जय कुमार महतोसंग रहेको भन्दै आफ्ना समकक्षीहरुसंग बताउन थालेका छन् ।
सञ्जय कुमार महतो भन्छन्, ‘यो चुनाव मेरो व्यक्तिगत महत्वाकांक्षा मात्र होइन, एउटा पुस्ताको प्रतिनिधित्व हो । यदि मतदाताले अवसर दिनुभयो भने संसदमा युवाको आवाज अझ स्पष्ट रूपमा उठाउनेछु ।’
उनले आन्दोलनका क्रममा देखिएको ऊर्जा मतपेटिकासम्म पुग्ने विश्वास व्यक्त गरे ।

स्थानीय मतदाताहरु भने अहिले उम्मेदवारहरुको प्रतिवद्धता र पार्टीले गरेका विभिन्न कामकाजबारे प्रश्न गर्दै पाका उम्मेदवारहरुलाई प्रश्न गरेर हैरान गर्न थालेका छन् ।
केही मतदाता अनुभवी नेतृत्वभन्दा पनि नवयुवालाई प्राथमिकता दिनुपर्ने भन्ने बहसमा जुटेका छन् ।
धनुषा क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा यसपाली स्थानीय विकासको मूल्यांकन, परम्परागत दलबीचको प्रतिष्ठाको लडाइँ र वैकल्पिक शक्तिप्रति अनुहारप्रति बढ्दो आकर्षणले यहाँको चुनावी माहोल नै बद्लिएको छ ।
यस निर्वाचनमा एमालेका महासेठलाई साख जोगाउने चुनौती छ भने कांग्रेसका यादवका लागि हारको शृंखला तोड्ने अवसरको रुपमा लिएका छन् । तर नयाँ अनुहारले नयाँ सोचलाई अघि सार्दै जेन– जी आन्दोलनबाट उदाएका सञ्जय कुमार महतोको पनि उत्तिकै चर्चा चुलिएको छ ।

