काठमाण्डौ, असार १४

जनता समाजवादी पार्टी नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव समुहको कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

उपेन्द्र समुहको कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय गरेको छ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन् ।

त्यस्तै कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय नेतालाई भने बोलाइएको थिएन । कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र समुहको बैठकले डा. बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ ।

सोमबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका उपेन्द्र यादवले नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई शपथग्रहण गराएपछि अब आफ्नो पार्टीमा पनि मन्त्रीहरू फेरबदलको लागि सहयोग गर्न आग्रह गरेका थिए ।

अध्यक्ष प्रचण्डले पार्टीबाट औपचारिक निर्णय गरेर आउन भने पछि सोमबार साँझमा बसेको कार्यकारिणी बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको स्रोतले जनाएको छ । एकीकृत समावादीले पनि सरकारमा नयाँ मन्त्री पठाएको छ । एकीकृत समाजवादीका नयाँ मन्त्रीले सोमबार शपथ लिएका थिए ।