काठमाण्डौ, असार १५
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै धारा एकीकृत हुन आवश्यक रहेको बताएका छन् ।
बुधबार पेरिस डाँडास्थित पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले विगतमा केही साथीहरु ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मुल धारबाट बाहिरिएको र अहिले तिनैमध्ये कतिपय साथीहरु फर्किन थालेको बताए ।
उनले भने, ‘क्रान्तिको खोजीमा, परिवर्तन र रुपान्तरणका निम्ति भन्दै उहाँहरु मुल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो ।’
अध्यक्ष प्रचण्डले देशको राष्ट्रिय स्वाधिनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु सबै एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको प्रस्ट पारे ।
कसैले कसैप्रति दुराग्रह र पूर्वाग्रह होइन, राष्ट्रिय आवश्यकतालाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
सो क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ६० जनाभन्दा बढी नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । पुन महाकाली ब्यूरो इन्चार्ज समेत हुन् ।
त्यस्तै पूर्व केन्द्रीय सदस्य शंकर बहादुर खड्का सेती ब्यूरो इन्चार्ज हुन् भने दलबहादुर धामी महाकाली इन्चार्ज हुन् । पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज समेत रहेका परियार हाल विशेष कमिटी सदस्य रहेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा लक्षमण बहादुर खड्का, भुवन कुँवर, राम भट्ट, टेकराज भट्ट, इन्द्र मडेइ, ममता कुँवर, गोमा वली, गोविन्द साउत, पदम सिंह, टिकाराम राना, भुपेस पुन, सन्दिप विक, प्रथममणि राना, सन्दिप तामाङ, युवराज पराजुली, खेम प्रदान, दीपक राना मगर, विजय राई, सुक्र राई, रुपक श्रेष्ठ लगायत रहेका छन् ।
