जनकपुर, असार ३०
जनता समाजवादी पार्टी नेपाल भित्रको विवादले उग्ररुप लिएको छ । डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाण्डौमा र उपेन्द्र यादव पक्षको बैठक वीरगंजमा हुँदैछ । दुवै पक्षले एक अर्कालाई कारवाही गरी पार्टी पुनर्गठनको आन्तरिक तयारी थालेका छन् ।
केन्द्रीय समिति र कार्यकारिणी समिति पुनर्गठन गरी जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसहित उनका पक्षमा लागेका नेताहरुको नाम हटाउने मनस्थितिमा रहेको छ ।
यादवको अध्यक्षतामा वीरगञ्जमा आयोजित केन्द्रीय समिति बैठकमा सहभागी एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार अधिकांश केन्द्रीय सदस्यले पार्टीमा गैरजिम्मेवारी काम गर्ने नेता तथा कार्यकर्तालाई कारवाही गर्नुपर्ने माग राखेका छन् । सोही अनुसार अध्यक्ष यादवले पार्टी पुनर्गठनको तयारीमा जुटेको जनाइएको छ ।
वीरगंज स्थित जारी रहेको बैठकमा बोल्ने क्रम जारी छ । बैठकमा सहभागी अधिकांश नेताले बाबुराम पक्षका नेताहरुलाई कारवाही गर्न अध्यक्ष यादवलाई दबाब दिइरहेका छन् ।
यता बुधबार सम्पन्न बाबुराम पक्षको केन्द्रीय समितिको बैठकमा पनि पार्टी पुनर्गठनको माग जोडतोड रुपमा उठेको छ ।
दुवै पक्ष एक अर्काको बैठकको निर्णयको प्रतिक्षामा रहेका छन् ।
बाबुराम पक्षका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले पार्टी एक राख्ने कि विभाजन गर्ने भन्ने कुरा उपेन्द्र यादवमा निर्भर रहेको बताउँछन् ।
उपेन्द्र यादवले बाबुराम पक्षलाई कारवाही गरेमा बाबुराम पक्ष आफ्नो अनुकुल अघि बढ्ने आन्तरिक तयारीमा रहेको उनको भनाई छ ।
