वीरगञ्ज, असार ३१
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताएका छन् ।
शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका ९ जना नेताहरुले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताएका हुन् ।
जसपाको केन्द्रीय समिति बैठक सम्पन्न भएपछि उनले पत्रकार सम्मेलन गर्दै डा. भट्टराईसहित, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी र भक्तबहादुर शाह लगायतका नेताहरुलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उनले जानकारी दिए ।
उनले कारबाहीमा पर्ने नेताहरुले पार्टीको हित विपरित काम गरेको, पार्टीको सिद्धान्त विपरित अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय गरेको आरोप लगाए ।
उनले सरकारले संसदमा पेश गरेको नागरिकता सम्बन्धी विधेयकलाई फाष्ट ट्रयाकमा पारित गर्नुपर्ने बताए । उनले फाष्ट ट्रयाकमा पारित गर्न गठबन्धनमा समझदारी पनि बनेको स्पष्ट पारे ।
जसपामा विवाद बढेपछि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने केन्द्रीय समितिको छुट्टै बैठक काठमाडौंमा सम्पन्न गरेका थिए । अध्यक्ष यादव पक्षको यो निर्णयसँगै जसपा औपचारिकरुपमा विभाजन भएको संकेत गरेका छन् ।
