जनकपुर, असार ३१

मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले सुरक्षा निकायलाई सवारीसाधन तथा विपदबाट उद्धार गर्ने अत्यावश्यक सामग्री हस्तान्तरण गरेका छन् ।

शुक्रबार मन्त्रालयमा एक कार्यक्रम बीच गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले मधेश प्रदेश भरकै प्रहरीलाई ९ थान भ्यान र २९ थान मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

मन्त्रालयको तर्फबाट महिन्द्रा कम्पनीको भ्यान अग्नि इन्कर्पोरेटेड, काठमाडौंबाट भ्याटसहित २ करोड ८५ लाख ६५ हजार ९८१ रुपैयाँमा खरिद गरिएको छ भने टीभीएस कम्पनीका १२५ सिसी मोटरसाइकल २९ वटा जगदम्बा मोटर्स, काठमाडौंबाट ५६ लाख ५१ हजार ९९ रुपैयाँमा खरिद गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बाढी तथा डुबानलगायतका विपदबाट उद्धारका लागि बोटसहितको उद्धार सामग्री १ करोड ७४ लाख १० हजार ५८८ रुपैयाँमा खरिद गरिएको हो ।

मन्त्रालयले नेपाली सेनालाई ब्यान्डबाजा समेत प्रदान गरेको छ ।

सवारीसाधन तथा उद्धार सामग्री हस्तान्तरण गर्दै मन्त्री साहले आगामी प्रतिनिधि सभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न र गाउँघरमा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मीलाई सवारीसाधनको आवश्यकता महसुस भएकाले प्रदान गरिएको बताए ।