पर्सा, असार ३२

पर्साको एक स्थानीय तहमा डाकिएको गाउँ सभा स्थगित भएपछि झडप भएको छ । सो झडपमा वडाध्यक्ष सहित ५ जना घाइते भएका छन् ।

शुक्रबार नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप भएको हो ।
कांग्रेस र जसपाका कार्यकर्ता वीच भएको झडपमा परी कालिकामाई वडा नम्बर ३ का वडाअध्यक्ष सञ्जयकुमार पटेल सहित ५ जना घाइते भएका हुन् ।

घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । वडा अध्यक्ष पटेलको गालामा चोट लागेको छ भने उनको गाला भित्र र बाहिर गरी पाँच वटा टाँका लागेको नारायणी अस्पतालले जनाएको छ ।

त्यस्तै वडा नम्बर ४ बस्ने अन्दाजी ७० वर्षीय महम्मद गफार मिया, ४० वर्षीय महम्मद एकबाल मिया, ४५ वर्षीय अकबर मिया र ३१ वर्षीय विजय चौरसिया घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले ५५ वर्षीय ध्रुव साहलाई नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जनाएका छन् ।

शुक्रबार दिउँसो कालिकामाईको आठौं गाउँसभामा हुनै लाग्दा सभामा उपाध्यक्ष राजमति बरैनी, वडा नम्बर २ का वडाअध्यक्ष सोनालाल चौरसिया, वडा नम्बर ४ का वडाअध्यक्ष सञ्जय साह गोढ लगाउत २९ जना सदस्य पुरै सहभागी भएका थिए । तर सहमति हुन नसकेपछि शनिबार साँझ नेपाल राष्ट्रिय आधारभूत विद्यालय हरिहरपुर विर्तामा बस्नेगरि बैठक डाक्ने तय भएको थियो ।

सोही अनुसार अध्यक्ष बशिष्ट कुमारको आदेशले प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले सूचना पनि टाँस गरेका थिए । उनीहरु बसिरहेकै ठाउँमा वडा नम्बर ४ का वडाअध्यक्ष सञ्जय साह गोढको भाइ रञ्जित आएका थिए । वडा नम्बर ३ का वडाअध्यक्ष पटेलले गाउँ सभा सदस्य र सहयोगी कर्मचारी मात्रै रहेको ठाउँमा सरोकार नभएको मानिस नआउन भनी प्रहरी लगाएर रञ्जितलाई बाहिर पठाएका थिए ।

त्यसैले गर्दा आक्रोशमा आएका रञ्जित साह गोढले आफू बाहिर निस्केपछि अचानक आक्रमण गरेको वडा नम्बर ३ का वडा अध्यक्ष पटेलको आरोप लगाए ।

त्यसपछि आक्रोशमा आएका दुवै पक्षका कार्यकर्ताहरुले कालिकामाईको विभिन्न ठाउँमा झडप गरेका थिए ।

अर्का घाइते महम्मद गफारले भने गाउँ सभा हेरेर फर्कने क्रममा आफूलाई घेरा हालेर आक्रमण गरेको आरोप लगाए ।
गाउँपालिका अध्यक्ष बशिष्ट कुमारले गाउँपालिकामा दुःखद घटना भएको बताए ।