जलेश्वर, असार ३२

मधेसको अधिकांश किसानहरु आकाशे पानीको भरमा पर्दा धान रोपाइँमा अन्योलता छाएको छ ।

मधेशको विभिन्न स्थानमा समयमा पानी नपर्दा महोत्तरीमा धान रोपाइँ अन्योलता देखिएको हो ।

आकाशे पानीको भरका कारण खेतमा पानी नहुँदा रोपाइँ रोकिएको छ ।

असार सिद्धिन लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको सङ्कट पर्ने चिन्ताले पिरोलिएका छन् । मुख्य बाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले यहाँका किसानलाई पिरोलेको हो ।

मध्य असार अघिको वर्षाको पानीले एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेका हुन् । असार सकिनै लाग्दा धान रोपाइँ जिल्लामा एक तिहाई नाघेको छैन ।

महोत्तरीमा अहिलेसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले नै जनाएको छ । रोपोको पनि सुकेको छ । रोपाइँ गर्ने भनेर हिल्याइएको खेत चर्को घामले सुकेर खिस्रिक्क परेको छ । रोपेको खेतमा धाँजो फाट्दै छ ।

जिल्लामा कूल ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि योग्य मानिन्छ भने १० प्रतिशत जग्गामा स्थायी सिँचाइको प्रबन्ध छ ।