काठमाण्डौ, असार ३२
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताएका छन् ।
शनिबार एक कार्यक्रममा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको खुलासा गरेका हुन् ।
नेपाल–चीन हिमालयन मैत्री समाजले काठमाण्डौमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालको राजनीतिक कतै न कतै भूराजनीतिक प्रभाव देखिँदै आएको पनि स्पष्ट पारे ।
अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भएपनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको बताए ।
उनले सरकारले रुस–युक्रेन युद्धमा युक्रेनलाई साथ दिएर गल्ती गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
दुई ठूला छिमेकी मुलुक भारत र चीनले सो सम्बन्धमा तटस्थताको नीति लिएको बेला नेपालले भने युक्रेनको पक्षमा लागेर गल्ती गरेको उनको भनाई छ ।
