जनकपुर, असार ३२

मधेश प्रदेशका राजधानी जनकपुरधाममा केही दिनदेखि अघोषित लोडसेडिङ्ग हुन थालेको छ ।

नेपाल विद्युत प्राद्यिकरणद्वारा हुने गरेको अघोषित लोडसेडिङ्गका कारण चर्को घाममा आम जनता निकै समस्या भोग्न बाध्य छन । अघोषित लोडसेडिङ्ग मात्रै होइन हाइभोल्टेज र कम भोल्टेज समस्याले विद्युतिय सामाग्री समेत क्षति हुने गरेको छ ।

गर्मी बढेसंगै जनकपुरधाम नगरक्षेत्र र यसको वरिपरी समेत दैनिक १०÷१५ पटक घण्टौसम्म लाईन काटने गरिएको कारण जनकपुरधामवासी समस्या भोग्न बाध्य छन । स्थानीयले विद्युत प्राद्यिकरणको लापरवाही कारण अघोषित रुपमा लोडसेडिङ्ग भइरहेको आरोप लगाएका छन् ।

इन्र्भटर कम्पनीको मिलोमतोमा विद्युत प्राद्यिकरणका कर्मचारीहरुले अघोषित रुपमा लोडसेडिङ्ग गर्दै आएको जनकपुरधाम ४ निवासी स्थानीय विनोद साहले आरोप लगाएका छन । उनले भने अहिले अत्यधिक रुपमा बढेको गर्मी बर्दास्त गर्न नसक्दा लाईन काटने समस्याले आजित भई आमजनता विद्युत इन्र्भटर किन्न बाध्य भएका छन् ।

गर्मी बढेसंग अघोषित रुपमा बढेको लोडसेडिङ्ग र विद्युत अनियमितताले गर्दा जनकपुरधाम बजार क्षेत्रमा इन्र्भटरको बिक्री ह्वातै बढेको छ । एक ब्याट्री इन्र्भटर व्यवसायीका अनुसार जनकपुरधाम बजारबाट दैनिक ४०÷५० वटा इन्र्भटर विक्री भइरहेको नाम नखोल्ने शर्तमा बताएका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले दैनिक पटक पटक विद्युत काटिने, घण्टै सम्म विद्युत नआउने, विद्युत रहदा पनि भोल्टेज नरहने, हाई भोल्टेज र विद्युत फ्लक्चुएसनका कारण घरका विद्युतिय समाग्रीहरु जल्ने लगायतका समस्या बढेको बताएका छन् ।

उनले भने विद्युत समस्याले गर्दा विद्युतिय सामाग्री जल्नुका साथै उद्योग व्यवसायलाई समेत असर पारेको छ । घण्टौ लाइन नै नरहने, लाइन आएपछि लो भोल्टेजका कारण सानादेखि ठूला व्यवसायीसम्म मारमा परेका छन् ।

जउवा संघले अघोषित लोडसेडिङ्ग र विद्युतिय समस्याले स्थानीय र उद्योगी व्यवसायीले भोग्नु परेको समस्या तत्काल समाधान गर्न भनी शुक्रवार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरधामका प्रमुख लखनलाल मल्लिकलाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र समेत बुझाएको छ ।

यसैबीच अघोषित लोडसेडिङ्ग र विद्युतिय समस्या बारे प्रमुख मल्लिकले भने यो समस्या प्राद्यिकरणको लापरवाही भन्दा पनि गर्मीमा हुने गरेको ओभरलोडिङ्ग र स्थानीयको असहयोगको कारण भईरहेको छ ।

ईकागजसँग कुरा गर्दै प्रमुख मल्लिकले भने यो वितरण केन्द्र अन्तर्गत २६ एमभीए विद्युत सप्लाईमा हामी सँग जम्मा ३ सय १३ वटा ट्रान्सफर्मर सहित ४२ एमभीएसम्मको ट्रान्सफर्मर क्षमता छ । तर बजार क्षेत्रमा क्षमताभन्दा बढी लोड रहेको कारण लाईन ट्रिप हुने, तार चुहिने, ट्रान्सफर्मर जल्ने लगायतका समस्याले पटक पटक लाईन काटिने गरेको छ ।

प्रमुख मल्लिकले भने हामीसँग ट्रान्सफर्मर पर्याप्त संख्यामा छन तर आवश्यक केही ठाउँमा ट्रान्सफर्मर चेन्ज गर्न र नयाँ थप्न चाहदा पनि स्थानीयले असहयोग गर्दै आएको छ । जनकपुरधाम बजार क्षेत्र जनक चौक तथा जानकी मन्दिर नजिक नयाँ ट्रान्सफर्मर र सोना बजार क्षेत्रमा चेन्ज गर्न खोज्दा स्थानीयले आफ्नो जग्गामा ट्रान्सफर्मर लगाउन नदिने अडानका कारण समस्या बढेको हो ।

उनले स्थानीयले जग्गा अधिग्रहणमा सहयोग गरे तत्काल समस्या समाधान हुनेछ, नभए विद्युतिय समस्या समाधान गर्न कठिनाई रहेको बताए ।