जनकपुर, साउन १
प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।
आज सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा रहेको छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले दक्षिणायन सुरु भएको मानिन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइने गरिन्छ ।
असार महिना अर्थात् एक महिनासम्म खेतीपाती गरि काम गर्ने किसान साउन १ गते आफन्तसँगै एकसाथ जम्मा भई रमाइलो गरेर मनाउँछन् ।
परम्परा अनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिने गरिन्छ ।
लुतो फाल्दा आ–आफ्नो कूल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन रहदै आएको छ ।
साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ भने महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रीहरुको भनाई छ ।
