जनकपुर, साउन २
नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनको अपरिपक्वताकाका कारण मुलुकलाई संकटमा पार्न खोजेको आरोप लगाएका छन् ।
सोमबार जनकपुरमा प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पूर्व अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पाण्डेले गठबन्धन दलका नेतृत्वकर्ता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपरिपक्व सोचको कारणले मुलुक गम्भिर संकटमा पार्न खोजेको आरोप लगाएका हुन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै गरिएको कार्यकर्ता प्रादेशिक प्रशिक्षण कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाको छत्रछायामा रहेको भन्दै उनलाई कसैको डर नरहेको भन्नठानेको देखिन्छ, भने प्रचण्ड भारतको हात हाम्रो टाउकोमा रहेको भन्दै अपरिपक्व सोचले देशलाई नै बर्बादी तर्फ लगेर डुबाउने चाहेको छ ।’
उनले मुलुकलाई कुनै राष्ट्रको विरुद्ध गोटीको रुपमा प्रयोग हुन नदिन र देउवा तथा प्रचण्डको अपरिपक्व सोचलाई सफल हुन नदिने जिम्मेवारी एमालेको काँधमा रहेकाले देशमा जागरण अभियान चलाउनुका साथै संघर्ष गर्नुपर्ने बताए ।
सो प्रशिक्षण कार्यक्रममा स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै उनले भने, ‘अब देशमा चुनाव जित्न पर्चा पम्पलेट, सभा, जुलुस र शक्ति प्रदर्शन लगायतका परम्परागत शैली परिवर्तन गरी आधुनिक टेक्नोलोजीको प्रयोग गर्नुपर्छ ।’
उनले निर्वाचित काठमाण्डौको मेयर बालेन साह र धरान मेयर हर्कबहादुर सम्पाङ्गको उदाहरण दिँदै भने ।
उनले अघि थप्दैँ भने, ‘तिनीहरुले एक्लै भएपनि आधुनिक टेक्नोलोजी सामाजिक सञ्जालको प्रयोग चुनाव जितेका छन, आउंदो निर्वाचनमा हामीले त्यसको अनुसरन गर्न जरुरी छ ।’
एमालेको मधेश प्रदेश अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्री तथा एमालेका सचिव रघुवीर महासेठ र पूर्वमन्त्री समेत रहेका स्थायी समिति सदस्य प्रभु साहलगायकाले प्रशिक्षण दिएका थिए ।
