भारत, साउन ४

भारतमा बेग्लाबेग्लै घटनामा एक प्रहरी अधिकारी र एक महिला प्रहरीको हत्या भएको छ ।

भारतको झारखण्डको राजधानी राँचीमा एक महिला प्रहरी अधिकारीलाई मंगलबार राती सवारी चेकिङका बेला किचेर हत्या गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार सन्ध्या टोपनो सवारीसाधन चेकिङ गरिरहेकी थिइन् र यतिबेला उनले एउटा पिक अप भ्यानलाई रोक्न भनिन् । भ्यानका चालकले रोक्नुको साटो टोपनोमाथि गाडी गुडाइदिए ।

सन्ध्या टोपनो तुपुदाना थानामा ओपीको पदमा तैनाथ थिइन् ।

राँचीको एसएसपीले दिएको जानकारी अनुसार एक अभियुक्तलाई पक्राउ गरिएको छ ।

मंगलबार मात्रै हरियाणाको नुहुमा पनि यस्तै प्रकृतिको एउटा घटना सार्वजनिक भएको थियो । उक्त घटनामा हरियाणा प्रहरीका एक डिएससपी सुरेन्द्र सिंह बिश्नोईलाई एउटा डम्परले किचेर हत्या गरिएको थियो ।

बिश्नोई अवैध उत्खनन रोक्ने प्रयास गरिरहेका थिए । एजेन्सी