जनकपुर, साउन ४
जनता समाजवादी पार्टी नेपालको कारवाहीमा परेपछि डा.बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्ने भएका छन् । जसका लागि उनी नयाँ अध्यक्षको खोजीमा रहेका छन् ।
नयाँ पार्टीमा भने डा. भट्टराईले कार्यकारी भूमिकामा नरहने भन्ने कुरा प्रस्ट पारिसकेका छन् । उनी जसपामा जुन भूमिकामा थिए, नयाँ पार्टीमा पनि त्यही भूमिकामा रहने वा अन्य अभिभावकीय भूमिकामा रहने तर कार्यकारी पदमा नरहने योजना रहेको जनाएका छन् ।
नयाँ पार्टीको अध्यक्ष बन्ने लाइनमा महेन्द्र राय यादव र राजकिशोर यादव पनि छन् । पार्टीको नेतृत्वमा हिसिला यमी, गंगा श्रेष्ठको नाम समेत चर्चामा छ । बाबुराम पक्षका एक नेताले भने, ‘बाबुरामजी अध्यक्ष बन्ने इच्छा नदेखाएपछि पूर्व नयाँ शक्तिबाटै कसैले नेतृत्व गर्नुहुन्छ होला ।’
बाबुराम अध्यक्ष नबनेपछि हिसिला यमी, गंगा श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंहलगायतले दाबी गर्न सक्ने उनको भनाइ छ ।
पूर्व नयाँशक्ति पक्षका नेताहरुले महेन्द्र तथा राजकिशोरलाई अध्यक्ष नदिने अडान राखेको उनको दाबी रहेको छ । तर स्वयं बाबुराम भट्टराई भने महेन्द्र वा राजकिशोरमध्ये एक जनालाई नेतृत्व दिने पक्षमा छन् ।
काठमाण्डौ स्थित जडीबुटीमा भएको केन्द्रीय समितिको विस्तारित बैठकमा पनि महेन्द्र राय यादवको उपस्थिति रहेपनि राजकिशोर यादव तटस्थ बसेका थिए ।
नयाँ पार्टी बनाउने कि अरु कुनै उपाय खोज्ने भन्ने विषयमा उनीहरुको बीचमा कुराकानी भइरहेको स्रोतले जनाएको छ । बाबुराम भट्टराईले जसपामा विद्रोह गर्न केही हतार गरेको राजकिशोर यादवको धारणा छ । उनी जसपामै बसेर संघर्ष गरेर पार्टीलाई रुपान्तरण गर्ने सोचमा थिए । बाबुरामलाई पनि उनले त्यही सल्लाह दिँदै आए पनि बाबुरामले हतारहतार छुट्टै केन्द्रीय समितिको बैठक बोलाएको कारण उनी तटस्थ बसेका थिए ।
जसपामा बाबुराम पक्षका नेता प्रशान्त सिंह भन्छन्, ‘अहिले हरेक कुराको गृहकार्य भइरहेको छ । पार्टी पुनर्गठनदेखि लिएर नयाँ पार्टी बनाउनेसम्मको गृहकार्य भइरहेको छ ।’ नयाँ पार्टी नै बन्ने तय भइसकेपछि मात्र त्यसको नेतृत्व कसले गर्ने भन्ने विषयमा प्रवेश गरिने उनले बताए ।
असार २८ र २९ गते बसेको केन्द्रीय समितिको बैठकमा उठेको कुरा, त्यसपछि दलका विभिन्न नेताहरुसँग गरिएको कुराकानीलाई एक ठाउँमा ल्याएर विश्लेषण गरी एउटा कुनै निर्णय लिने उनले बताए ।
उनले मोटामोटी उपेन्द्र यादवको साथमा रहेर काम नगर्नेमा सबै नेताहरु सहमत भइसकेको तर त्यो अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल चलिरहेको प्रस्ट पारे । उनले भने, ‘साउनको दोस्रो वा तेस्रो हप्तासम्ममा सबैको कुराको टुङ्गो लाग्छ ।’
बाबुराम पक्षका कतिपय नेताहरु माओवादी पार्टीमा फर्किने सोच रहेका छन् ।
