काठमाण्डौ, साउन ४
राष्ट्रिय एकता अभियानले चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ स्थित रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको समाचारहरूबारे अभियानले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका हो ।
सो ज्ञापन पत्रमा, ‘अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यताको उल्लङ्घन गर्दै नेपाल–चीन सीमाको रुइलालगायतका विभिन्न क्षेत्रमा भइरहेको अतिक्रमण दुई देशबीचको मित्रताको अपमान मात्र नभई सम्पूर्ण नेपालको सार्वभौमसतामाथि नै ठाडो चुनौती रहेको छ ।’
यता मन्त्री श्रेष्ठले चीनसँग विवादित जग्गाको बारेमा छानबिन गरी फिर्ता ल्याइने आश्वासन दिएकी छिन् ।
अभियानका संयोजक विनय यादवले मन्त्री श्रेष्ठले चीनले नेपालको भूमि मिचेको छ कि छैन त्यसको बारेमा छानबिन गर्न एउटा समिति पनि बनाउने आश्वासन दिएको बताए ।
