जनकपुर , साउन ४
उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८\०७९ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।
उच्च अदालतले सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रगति विवरण अनुसार ४९.१५ प्रतिशत मुद्दाको फर्छयौट गरेको जनाइएको छ ।
उच्च अदालत जनकपुरका मुख्य न्यायधिश विनोद शर्माले कोरोना महामारी, स्थानीय तह निर्वाचन तथा बेञ्च अभावका कारण मुद्दा फर्छयौटको दरमा केही कमी आएको बताएका छन् । उनले मुद्दा फर्छयौटको स्थिति सन्तोषजनक रहेको दावी समेत गरे ।
मुख्य न्यायधिश शर्माले मुद्दा फर्छयौटको गति बढाउनका लागि आफूहरु गम्भिर रहेको समेत बताए । उनले अदालतमाथिको जनताको आस्थाले गर्दा कामकारवाहीको चाप बढ्नु स्वाभाविक रहेपनि कामकारवाहीलाई तिव्र बनाउनका लागि व्यवस्थापन तर्फ गम्भिर रहेको समेत बताए ।
आर्थिक वर्ष २०७८\०७९मा उच्च अदालतले कुल ४ हजार ७ सय २४ मुद्दाहरु मध्ये २ हजार ३ सय २२ मुद्दाको फर्छयौट गरेको छ । भने दालतले कुल कायम मुद्दाहरुमध्ये ३ हजार ५ सय ३६ मुद्दा फर्छयौट गर्ने लक्ष्य लिएको थियो ।
गत आर्थिक वर्षबाट आर्थिक वर्ष २०७९\०८०मा २ हजार ४ सय २ वटा मुद्दा सरेर आएको उच्च अदालतको प्रगति विवरणमा उल्लेख छ ।
उच्च अदालतमा गत आर्थिक वर्ष २०७७\०७८ बाट सरेर २ हजार ४ सय ६६ मुद्दा आएकोमा गत आर्थिक वर्षमा २ हजार २ सय ५८ नयाँ मुद्दा दर्ता भएर कुल ४ हजार ७ सय २४ मुद्दा कायम भएको थियो ।
पछिल्ला केही आर्थिक वर्षदेखि मुद्दा फर्छयौटको दरमा कमी आएको उच्च अदालत जनकपुरको प्रगति विवरणमा उल्लेख गरिएको छ ।
उच्च अदालतले आर्थिक वर्ष २०७५\०७६ मा ७२.९६ प्रतिशत मुद्दाहरु फर्छयौट गरेको छ भने आर्थिक वर्ष ०७६\०७७ मा ५५.२० प्रतिशत र आर्थिक वर्ष २०७७\०७८मा ३३.०२ प्रतिशत मुद्दाहरु मात्रै फर्छयौट गरेको थियो ।
