जनकपुर, साउन ५

भारतको जयनगरदेखि जनकपुरधाम–कुर्थासम्म सञ्चालन हुँदै आएको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले थप सेवा विस्तार गर्ने भएको छ ।

यही साउन ३० गतेदेखि रेल सेवाले जयनगरदेखि विजलपुरासम्म थप सेवा विस्तार गर्दै छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जयनगर–जनकपुर कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब विजलपुरासम्म थप सेवा विस्तारको तयारीमा लागेको जानकारी दिनुभयो । उनले भने, “कुर्थादेखि १७.५ किलोमिटर रेल सञ्चालनका लागि लिक (पटरी) हल्ट, स्टेशनलगायतका भौतिक पूर्वाधार संरचना तयार भइसकेको छ, १५ अगस्तका दिन सेवा प्रारम्भ गर्नेबारे नेपाल र भारतका उच्चपदस्थ पदाधिकारीबीच कुराकानी हुँदैछ ।”

उनले यसअघि कुर्थादेखि बिजलपुरासम्म रेलको भौतिक पूर्वाधारका संरचना नेपाल सरकारको रेल्वे कम्पनीलाई हस्तान्तरण गरिनुपर्ने भएकाले त्यो प्रक्रिया पनि अगाडि बढिसकेको बताए । महाप्रबन्धक झाले दिएको जानकारी अनुसार भारतीय इर्कन कम्पनीले करिब रु तीन करोड लागतमा बिजलपुरा खण्डको रेल मार्गको भौतिक पूर्वाधार संरचना निर्माण गरेको जानकारी दिनुभयो । यस मार्गमा रेल सेवा सुरु भएपछि बिजलपुरादेखि बर्दिवाससम्म १८ किलोमिटर रेलको भौतिक पूर्वाधार संरचनाको काम सुरु हुने छ ।

“नेपाल सरकारले बिजलपुरादेखि बर्दिवाससम्म रेलको लिकसहित भौतिक पूर्वाधार संरचनाका लागि जग्गा हस्तान्तरण गरेपछि तुरुन्त काम सुरु हुन्छ”, महाप्रबन्धक झाले भने, “यस खण्डमा जग्गाको मुआब्जाको विषयमा पनि टुङ्गो लागिसकेकोले अब तुरुन्त निर्माण काम सुरु हुन्छ ।”

सन् २०१० मा भारत सरकारको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सम्झौता भएको थियो । भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का पाएको भारतीय इर्कन इन्टरनेसनल कम्पनीले निर्माण थालेको थियो । जयनगरदेखि बर्दिवाससम्म ७० किलोमिटर छ ।

गत चैत १९ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा जयनगर–जनकपुर कुर्था रेल सेवाको भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएर उद्घाटन गर्नुभएको थियो । त्यस दिनदेखि जयनगर–जनकपुर कुर्थासम्म ३४.९ किलोमिटर नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । अब बिजलपुरासम्म रेल सेवा सुरु भएपछि यसको सेवा ५२.४ किलोमिटर हुनेछ ।

बिजलपुरादेखि बर्दिवाससम्म १८ किलोमिटर रेल सञ्चालनको भौतिक पूर्वाधार र लिक निर्माणको काम बाँकी छ । यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरा भङ्गाहासम्म १७.५ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको बिजलपुरा भङ्गहादेखि बर्दिवाससम्म १८ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजनाअन्तर्गत सो कार्य भएको हो ।

बिजलपुरासम्म रेल सेवा विस्तारको लागि महाप्रबन्ध झाको नेतृत्वमा सशस्त्र प्रहरी प्रमुखसहित टोलीले निरीक्षण गरेको थाहा पाएपछि त्यस भेगका लोहारपट्टी, बलवा, भङ्गाहा, पिपरा क्षेत्रका स्थानीयवासीमा खुसीयाली छाएको छ । रेल सेवाले आफ्ना सेवा विस्तार गरेर बिजलपुरासम्म पु¥याउने भएपछि त्यस त्यसक्षेत्रका जनतालाई सहज हुने छ ।