जनकपुर, साउन ५
सशस्त्र प्रहरीले नेपाल–भारत सीमाबाट लागूऔषधको रुपमा रहेको खैरो हिरोइनसहित एकजनालाई सर्लाहीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १० बस्ने २३ वर्षीय सुमन विक रहेका छन् ।
उनको साथबाट ५ ग्राम २ सय ७० मिलिग्राम खैरो हिरोइनसहित स्रोत नखुलेको १७ लाख ८२ हजार ५ सय रुपैयाँ र ३ थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी १० नम्बर गणका गणपति प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।
उनका अनुसार विकको साथबाट ठूलो मात्रामा बरामद भएको रकमको स्रोत खुलेको छैन ।
विक बुधबार साढे ११ बजे राति भारतबाट नेपालतर्फ आउँदै गर्दा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
भारतबाट अबेर राति प्रदेश–२–००६ प ३४५१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गर्दा बीओपी बारा उधोरणबाट खटिएको टोलीले शंका लागेर जाँच गर्दा खैरो हिरोइनसहित स्रोत नखुलेको रकम बरामद भएको खनियाँले बताए ।
पक्राउ परेका विकसहित लागूऔषध र मोटरसाइकल थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको छ । रकम भने मलंगवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
