जनकपुर, साउन ६

मधेस प्रदेशमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण बढ्न थालेको छ । कोरोना संक्रमणमा वृद्धि हुँदै जाँदा जिल्ला प्रशासन कार्यालय धनुषाले सतर्कता अपनाउन अपिल गरेको छ ।

असार महिना अन्तिम सातासम्म मधेस प्रदेशमा शून्य रहेको कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सर्तकर्ता अपनाउन अपिल गरेको हो ।

हाल कोभिड–१९ को सङ्क्रमण दर बढिरहेकाले मास्क लगाएर मात्र हिँड्न, बिना काममा भीडभाडमा नजान, सङ्क्रमणको शङ्का भएमा सङ्क्रमण परीक्षण तुरुन्त गर्न साथै बुस्टर डोज बाँकी रहेका सबैलाई नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा छ जना कोरोना सङ्क्रमित पाइएको छ । यसअघि गत मङ्गलबार पनि मधेस प्रदेशसमा चार जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।

यससँगै प्रदेशमा कोरोना पोजेटिभका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० पुगेको स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ । त्यस्तै पर्साको वीरगन्ज भन्सार नाका, सिरहाको माडर नाका, रौतहटको गौर नाका र महोत्तरीको भिठामोठ नाकामा २०३ जनाको गरिएको एन्टिजेन परीक्षण गर्दा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नभेटिएको निर्देशानालयले जनाएको छ ।
त्यस्तै अहिलेसम्म मधेश प्रदेशमा कोरोना सङ्क्रमित भएकामध्ये ९७ दशमलव ४ प्रतिशत निको भई घर फर्केका छन् भने २ दशमलव ५६ प्रतिशत कोरोना सङ्क्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सीमावर्ती जिल्ला पर्सामा पुनः कोरोना सङ्क्रमित भेटिन थालेका छन् ।

विगत चार महिनादेखि बन्द रहेको पिसिआर परीक्षण वीरगञ्जको नारायणी अस्पतालमा सुरु भएपछि सङ्क्रमित भेटिन थालेका हुन् ।

गत चैतको अन्तिम सातादेखि सङ्क्रमित नभेटिएपछि बन्द गरिएको पिसिआर परीक्षणलाई पुनः सुरु गरिएपछि सङ्क्रमित भेटिन थालेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए ।

सिंहका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा पछिल्लो २४ घण्टामा भएको पिसिआर परीक्षणको रिपोर्टअनुसार छ जना सङ्क्रमित भेटिएका छन् । उहाँले ३४ जनाको स्वाबलाई परीक्षण गर्दा छ जना महिलामा सङ्क्रमण पुष्टि भएको बताए ।

ज्वरो, खोकीको उपचार गराउन अस्पताल आएका बिरामीमध्ये शङ्का लागि पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको डा सिंहले बताए । अठार वर्षदेखि २४ वर्ष उमेर समूह रहेका ती महिला सङ्क्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र हाल देखिएको खोकी तथा ज्वरोको घरमै राखी उपचार भइरहको उनले बताए ।

नारायणी अस्पतालमा हाल प्रत्येक मङ्गलबार शङ्का लागेका बिरामीको पिसिआर परीक्षण सुरु गरिएको र यो सङ्ख्या बढ्दै गए परीक्षणको दायरालाई बढाउँदै लैजाने अस्पताल प्रशासनले जनाएको छ ।