जनकपुर, साउन ६

मधेस प्रदेश सरकारले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने भन्दै मञ्चबाटै प्रतिवद्धतासहितको घोषणा गरेपनि ठोरीलाई बेवास्ता गरेर ढाटेको गुनासो स्थानीयवासीको छ ।

पर्साको ठोरी गाउँपालिकामा पहिलो पटक मधेश प्रदेशस रकारले ११ चैत २०७८ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठक बसेर ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको थियो ।

मुख्यमन्त्री लालबाबु राउतले ठोरीको पूर्वाधार विकासका लागि मन्त्रिपरिषद् बैठकले १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णयसमेत गरेको घोषणासभाबाट गरेको थियो । उनले मन्त्रिपरिषद्को बैठकले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरी प्रदेश सरकारले १० करोड प्याकेज दिने निर्णय गरेको बताएका थिए । तर, चालू आर्थिक वर्ष २०७९÷०८० को बजेटमा भने मधेस प्रदेशको मन्त्रिपरिषदले घोषणा गरेको प्याकेज भने पर्न सकेन ।

पर्साको विकासका लागि केही गर्न नसकेको भनेर पटक पटक आलोचित हुँदै आएका मुख्यमन्त्री राउत ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेर पनि बजेट नपारेर फेरि आलोचित भएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री राउत वीरगन्जलाई राजधानी बनाउन नसकेदेखि नै पर्सावासीबाट आलोचित हुँदै आएका थिए । उनलाई मुख्यमन्त्री पदसँग पर्साका जनताको मत साटेको आरोप लाग्ने गरेको छ ।

मधेस प्रदेश सरकारको बजेट आएपछि ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको र घोषणा गरेको दस करोडको प्याकजेट बजेटमा नपरेपछि ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष गोकुलीकुमारी रेग्मीसहितको टोली मुख्यमन्त्री राउतलाई भेट्न जनकपुरधाम गएका थिए ।

भेटका क्रममा मुख्यमन्त्री राउतले बजेट राख्ने आश्वासन दिएपनि नीति तथा कार्यक्रम र बजेटमा घोषणा गरिएको प्याकेज नराखेको गाउँपालिकाका अध्यक्ष श्रोष्ठले बताए । बजेट नराखेको विषयमा गुनासो गर्दा मुख्यमन्त्री राउतले मन्त्रिपरिषदको बैठक बस्न ठोरी गाउँपालिकाले नबोलाएको र मधेस प्रदेश सकार आफैंले राखेको भन्दै ‘सरकारले जहाँ चाहन्छ त्यहि योजना पार्ने’ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको अध्यक्ष श्रेष्ठले सार्वजनिक कार्यक्रममै गुनासो गरेका थिए ।

मधेस प्रदेश सकारले निर्णय गरेर घोषणा गरेको पर्यटकीय क्षेत्रको विकासका लागि १० करोड बजेट चालू आर्थिक वर्षमा नराखेको र उनको कार्यशैलीप्रति उनकै पार्टीका नेता कार्यकर्ताले असन्तुष्टी जनाउँदै पार्टी परित्यागसमेत गरेका छन् । ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्न मुख्य भूमिका खेलेका तत्कालिन जसपाका केन्द्रीय सदस्य टेकबहादुर शाक्य (अन्जन) लगायतले मधेस प्रदेश सरकारको नेतृत्व गरेको जसपाका मुख्यमन्त्रीले घोषित कार्यक्रमको पनि कार्यान्वयन नगरेको भन्दै पार्टी छोड्नु परेको बताए ।

उनले भने, “ठोरी भौगोलिक दृष्टिले पर्यटकीय क्षेत्र बनाउन उत्कृष्ट र उपयुक्त ठाउँ हो । मैले नै मन्त्रिपरिषदको बैठक ठोरीमा राख्न लगाएर पर्यटकीय क्षेत्र घोषणा गर्नका लागि पहल गरेँ तर, अहिले मधेस प्रदेश सरकार र आफू आवद्ध पार्टीको सरकारले नै घोषणा गरेको विषय समेत समेट्न सकेन र पार्टीबाट राजिनामा दिनुप¥यो ।”

May be an image of 6 people, people standing, tree, sky and road

मधेश प्रदेशका राउतले हजारौं जनताको बीचमा घोषणा गरेको कुरा समेत कार्यान्वयन गर्न नसकेर आफ्नो पदीय मर्यादा समेत बिर्सिएको शाक्यले आरोप लगाए । उनले थपे, “हामी जनतासँग झुठको खेती गर्न सक्दैनौं । पर्यटकीय पूर्वाधारका लागि १० करोड र होम स्टे (घरवास) स्तरोन्नतीका लागि १ करोड गरेर ११ करोडको तोक आदेश समेत भएको थियो । तर, नीति तथा कार्यक्रम र बजेटमा समेत पारिएन यसले मुख्यमन्त्रीको इमान्तारिता कति रहेछ भन्ने जनताबीच प्रष्ट भएको छ ।”

मधेस प्रदेश सरकारले बाराका दुई प्रादेशिक अस्पताल बनाउनेबारे नीति तथा कार्यक्रममा उल्लेख गरे पनि आवश्यक बजेट बिनियोजन नगरेपछि प्रदेश सांसद तथा स्थानीय तहका प्रमुखले राउतको खुलेरै आलोचना गर्दै आएका छन् । निरज पिठाकोठी