जनकपुर, साउन ९

बैंकबाट रकम झिकेर घर फर्किदै गरेकी एक महिलालाई लुटेराले लुटेका छन् ।

जनकपुरधाममा सोमबार दिउँसो बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लुटेर भागेका छन् ।

वैदेशिक रोजगारीमा साउदीमा रहेका श्रीमान् देवशरण यादवले पठाएको सो रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा एउटा मोटरसाइकलमा आएका दुई जनाले रुपैयाँ राखिएको झोला नै हातबाट लिएर भागेको शर्मिलाले बताइन् ।

उनले झोलामा २ लाख रुपैयाँ, नागरिकता, बैंक सम्बन्धी कागजात र थप ५ सय रुपैयाँ रहेको बताइन् ।

उनले भनिन्, ‘आफू हिंडिरहेको समयमा एक्कासी आएका उनीहरुले हातबाट झोला लिएर गए,’ शर्मिलाले भनिन्, ‘दुवैले हेलमेट लगाएका थिए ।’

यता धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले रकम लुटेराहरुको खोजी भइरहेको बताए ।