जनकपुर, साउन १०
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कारागारमा रहेका प्रतिनिधिसिभा सदस्य रेशम चौधरीको रिहाइका लागि संघीय सरकारसँग वार्ता थालेको छ ।
दुवै पक्षले बनाएको वार्ता समितिमार्फत छलफल पनि भइरहेको छ ।
यसअघि दुई पक्षबीच भएको छलफलको आधारमा नागरिकता ऐन संशोधन विधेयक पनि अघि बढाइएको थियो ।
अब रेशम चौधरीको रिहाइका लागि वार्ता केन्द्रित भएको लोसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । नेता कर्णले नागरिकता सम्बन्धी समस्या समाधानको प्रक्रिया थालिएसँगै चौधरीको रिहाइलाई लोसपा गम्भिर रहेका बताए । उनले भने, ‘अब हाम्रो एक मात्र मिसन भनेको रेशम चौधरीको रिहाइ हो ।’
टीकापुर घटनाको मुख्य दोषीका रुपमा जेल जीवन बिताइरहेका चौधरीको रिहाइका लागि लोसपाले सरकारसँग पटकपटक वार्ता गरेको छ । तर यसपटक आफूहरु आशावादी रहेको उनले बताए ।
रेशम चौधरीको रिहाइपछि आन्दोलनकारीमाथि लागेको मुद्दा, घाइते तथा सहिद परिवारको भरणपोषणका लागि पनि सरकारसँग छलफल गरिने उनको भनाई छ ।
रेशम चौधरी तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट कैलाली–१ बाट प्रतिनिधिसभा चुनाव जितेका थिए । अदालतले दोषी ठहर गरेपछि उनी जेलमै छन् । पछिल्लो समय रेशम चौधरीले आफ्नो श्रीमतीलाई अध्यक्ष राखेर नागरिक उन्मुक्ति पार्टी समेत गठन गरेका छन् ।
