महोत्तरी, साउन ११
स्थानीय पत्रकार ललन मण्डलमाथि भएको हातपात घटनाको पत्रकार सम्बद्ध सङ्घ, संगठनले भत्र्सनासहित निन्दा गरेका छन् ।
एक मिटरब्याजीसँग सम्बन्धित घटनाको रिपोर्टिङका क्रममा गत सोमबार महोत्तरीको गौशाला बजारमा पत्रकार मण्डलमाथि भएको हातपातको नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाले एक प्रेस विज्ञप्ति जारी गरेर निन्दा गरेका हुन् ।
महासङ्घले स्वतन्त्र रूपमा समाजमा घटित घटनाबारे सोधपुछ गर्दा पत्रकार मण्डलमाथि आक्रमण गरी हातपात गरिएको घटना निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ । महासङ्घ जिल्ला शाखाको आज जारी विज्ञप्तिमा घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग समेत गरिएको छ ।
त्यस्तै जिल्लाका पत्रकार सम्बद्ध सङ्गठन नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार मण्डलमाथि भएको हातपात घटनाबारे छानबिन गरी सबै दोषीउपर कारबाहीको माग गरिएको छ ।
न्युज–२४ सञ्चारमाध्यममा आबद्ध पत्रकार मण्डललाई सञ्जय रौनियारसहितका केही व्यक्तिको समूहले सोमबार मिटरब्याजी घटनाको सोधखोजका क्रममा आक्रमण गरेको थियो ।
यता नेपाल प्रहरीले पत्रकार मण्डलमाथि हातपात गर्नेमध्ये सञ्जय रौनियारलाई पक्राउ गरी आवश्यक छानबिन थालिएको जनाएको छ ।
