जनकपुर, साउन १२

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेता तथा शहीदहरूको शालिक निर्माणका लागि करीब साढे सात करोड रुपैयाँ छुट्याएको छ ।

आर्थिक वर्ष २०७९\८० को बजेटमा सप्तरीमा रामराजा सिंहको शालिक निर्माणका लागि ५० लाख, महोत्तरीमा विद्यापति प्रतिमा स्थापना तथा सौन्दर्यीकरणका लागि ५० लाख विनियोजन गरिएको छ । त्यस्तै, रामनारायण मिश्रको शालिक निर्माण गर्न ५० लाख, गजेन्द्रनारायण सिंहको शालिक निर्माण गर्न पाँच करोड र गणेश नेपालीको शालिक निर्माण गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ ।

यस्तै, जनकपुरधाम उपमहानगरपालिका–२५ मा अरविन्द ठाकुरको शालिक निर्माणका लागि १० लाख, जनकपुर–२३ मा अमर शहीद दुर्गानन्द झा लगायत शहीदहरूको स्मारक निर्माणका लागि ४० लाख, रामनारायण मिश्र स्मारक निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

विपक्षी दलले भने विकासका लागि भन्दा अनुत्पादक ठाउँमा बजेट विनियोजन भएकोमा असन्तुष्टि जनाएका छन् । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले सरकारले ल्याएको बजेट विकासको पक्षमा नरहेको बताउँछन् ।

भौतिक पूर्वाधार मन्त्री राम सरोज यादवले रामनारायण मिश्र र दुर्गानन्द झा लगायत शहीदहरूले मुलुकमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले शालिक निर्माणमा बजेट विनियोजन गरिएको बताए ।

यसका साथै मधेश प्रदेश सरकारले एक पटक फेरी आफ्नो विभिन्न महत्वाकांक्षी योजनाहरुको प्रचार प्रसारमा करोडौ खर्च गर्ने भएको छ । मधेश सरकारले गत आर्थिक वर्षमा समेत पर्चा, पम्पलेट तथा बैनरमै करोडौ खर्च गर्दै आईरहेको थियो । जसलाई सरकारले चालु आर्थिक वर्षमा फेरी निरन्तरता दिएको छ ।