जनकपुर, साउन १२

कुनै बेला तराई–मधेशलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत बसेका डा. चन्द्रप्रकाश राउत उर्फ सिके राउत ओशो सन्यासी बनेपछि उनी अब आनन्द मैत्रय नामबाट समेत चिनिने भएका छन् ।

बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यासी बनेसँगै उनले नयाँ नाम पनि पाएका हुन् ।

जनमत पार्टीका अध्यक्ष रहेका डा. सिके राउत काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा नौँ दिनसम्म पूर्णरुपमा मोबाइल बन्द गरेर ध्यानमा बसे । नौँ दिन ध्यानमा पूरा गरेपछि उनले सन्यास धारण गरेका हुन् ।

ओशो तपोवन व्यवस्थापनकी सदस्य रहेकी सोभिता सिम्खडाले भनिन्, ‘उहाँले यहाँ ९ दिनको ध्यान पूरा गर्नुभएको छ । मिस्ट्रिक रोज भन्ने हाम्रो एउटा थेरापी हुन्छ । त्यसका लागि पूर्णरुपमा यहाँ १० दिन बस्नुभयो । साउन ११ को दिन बुधबार साँझ उहाँले सन्यास लिनुभएको हो ।’

डा. राउतले पहिलेदेखि नै ओशोको पुस्तक पढ्ने र ध्यान गर्ने गरेको उनले बताइन् । उनले राउत पहिलेदेखि नै आध्यात्मिक रहेको बताइन् ।
ओशो सन्यासी भएपछि डा. राउतले गुरुले दिएको माला र सन्यासी पोषाकमा देखिने उनले बताइन् ।