जनकपुर, साउन १२
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन धनुषाबाट लड्ने चर्चा चुलिएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्ना निकटस्थ माओवादी नेता तथा सहकर्मीहरुलाई एकजुट बनाउनेदेखि माधवकुमार नेपाल, नेता वामदेव गौतमलाई समेटेर समाजवादी केन्द्र बनाउने गृहकार्य गरिरहँदा उनी यसपालि धनुषाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने चर्चा चुलिएको हो ।
समाजवादी केन्द्र गठन गरिरहँदा उनले यस बीचमा थुप्रै नेताहरुसँग भेटवार्तासमेत गरेका छन् । कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनभित्रैबाट प्रचण्डले अर्को गठबन्धन बनाउन खोजेको भनेर पनि अहिले चर्चा भैरहेको छ ।
तर यस बारे भने निधो अहिले नै भने भईसकेको छैन ।
प्रतिनिधिसभा सदस्यको धनुषाको क्षेत्र नम्बर १ बाट लड्ने तयारी गरेको दाबी गरिएपनि यसको पुष्टि भने भईसकेको छैन । धनुषा क्षेत्र नम्बर १ माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव निर्वाचित छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मधेश प्रदेशमै माओवादीको जनाधार भएको क्षेत्रको रुपमा अहिलेसम्म रहेको मानिन्छ ।
प्रचण्ड ०७० को निर्वाचन सिरहाको क्षेत्र नम्बर ४ बाट निर्वाचन जितेका थिए ।
चितवन क्षेत्र नम्बर ३ मा प्रचण्डलाई हराउनको लागि एमालेदेखि स्वतन्त्र उम्मेद्धवार बन्नेहरु अहिलेदेखि नै सक्रिय भएका छन् ।
