जनकपुर, साउन १३

विभिन्न राजनीतिक दलहरुले आफ्नो साखको लडाई बनाउँदै गरेको लामो संघर्षपछि धनुषा र महोत्तरी जिल्लालाई भारतीय सीमासंग जोड्ने जनकपुरधाम–भिठामोड सडकखण्डको निर्माण कार्य ६ वर्ष अगाडी शुरु भयो ।

३ वर्ष भित्रै सम्पन्न हुने गरी निर्माण कार्य शुरु भएको सो सडकखण्ड निर्माण कार्य भने अझै पनि सम्पन्न हुन सकेको छैन् । सडक कतिपय ठाउँमा भत्किन पनि थालेको छ भने त्यसको मरम्मत समेत गरिदैछ ।

निर्माण अवधि समाप्त भएपनि निर्माण सम्पन्न हुन नसकेको सो सडक खण्डमा कमसल सामग्री प्रयोग, गुणस्तरहिन काम लगायतका कारण सडक नै भत्किन थालेको स्थानीयहरुको आरोप छ । फोर लेन भनिएको सो सडक खण्डमा अधिकांश ठाउँमा र सडक छेउमा कालोपत्रे, कल्भर्ट र पुल लगायतका काम अझै बांकी छ ।

हुलाकी राजमार्ग परियोजनाको निगरानीमा निर्माण भइरहेको जनकपुरधा भिठामोड सडक खण्डको सडकमै गहिरो खाल्डाखुल्डी, ठाउँ ठाउँ सडक भत्किएकाले सवारी साधन आवागमनमा समेत समस्या हुँदै आईरहेको छ ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ३ वर्षमा सम्पन्न गर्ने गरी २०७३ भदौ २४ गते सो सडकको शिलान्यास गरेका थिए । ९३ करोड ४३ लाखको लागतमा निर्माण भइरहेको सो सडकका लागि नेपाल सरकारले १८.५६ किमिको उक्त सडकको दुई खण्डमा निर्माण गर्ने सम्झौता गरेको थियो । पहिलो खण्डमा जनकपुरधास्थित जिरोमाइलदेखि महोत्तरीको पिपरासम्म श्री प्रतिभा वाई पि जे.भी लाई ४३ करोड ५४ लाख ७२ हजार आठ सय चौहत्तर भ्याट सहितमा ठेक्का सम्झौता गरेको थियो । त्यस्तै दोस्रो खण्डमा पिपरादेखि भिठामोडसम्म ९.५६ किलोमिटर सडक श्री आशिष पप्पु रोशन जेभी ४९ करोड ८९ लाख २० हजार ७ सय ७ रुपैया भ्याट सहित बजेट ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अनुसार ३ वर्षमै सक्नु पर्ने काम ६ वर्षसम्ममा पनि पूरा नहुँदा स्थानीयमा आक्रोश देखिएको छ । हुलाकी राजमार्ग निर्देशनालय जनकपुरका कर्मचारी, धनुषा र महोत्तरीका प्रशासनले आर्थिक चलखेल गरिरहेको आरोप लगाउँदै पिपरा गाउँपालिका ३का स्थानीय निशान्त मिश्राले गुणस्तरहीन र मापदण्ड विपरीत निर्माण भईरहेकाले सडकको निर्माण पूरा नहुँदै भत्किन लागेकोमा आक्रोश व्यक्त गरे ।

हुलाकी राजमार्ग परियोजनाका प्रमुख कृष्णकुमार महतोले सडकको गुणस्तरियतामा कुनै किसिमको खराबी नरहेको दावी गरे । उनले स्थानीयवासी जनकपुरधाम–भिठामोड सडकखण्डलाई जनकपुरधाम ढल्केवर सडकखण्डसंग तुलना गरिरहेको जानकारी दिँदै भने ‘दूबै सडकको निर्माण प्रकृया नै फरक छ, जनकपुरधाम–भिठामोड सडकखण्ड डिविएसडी प्रविधिमा निर्माण भईरहेको छ जबकि जनकपुरधाम–ढल्केवर स्फाल्ट प्रविधिमा निर्माण भईरहेको छ ।’ अगाडी भने ‘स्फाल्ट प्रविधि डिविएसडी प्रविधिभन्दा उत्तम र खर्चिलो प्रविधि हो ।’ तर निर्माण भईरहेको जनकपुरधाम भिठामोड सडकखण्ड पनि टिकाउ नै रहेको महतोले दावी गरे ।

जबकि इन्जिनियरहरु डिबिएसडी प्रविधिमा निर्माण हुने सडकको आयु नै ५ वर्षको हुने गरेको बताउँछन् । यस प्रकारका सडकलाई ५ वर्षपछि मरम्मत सम्भार गर्नुपर्ने आवश्यक्ता हुन्छ ।

यता हुलाकी राजमार्ग परियोजनाका प्रमुख महतोले निर्माण कार्य सम्पन्न भएको ४ वर्षपछि फेरी त्यो सडकमा एक लेयर थपिने जानकारी दिए । महतोले भने ‘लेयर थप गर्ने बेलामा स्फाल्ट प्रविधिका लागि सम्झौता गरियो भने जनकपुरधाम–ढल्केवर सडकखण्ड जस्तै यो सडक पनि टिकाउ हुनेछ ।’ यद्यपि अहिले डिविएसडी प्रविधिका लागि सम्झौता भएकाले सोही अनुसार ९० प्रतिशत काम सम्पन्न भई सकेको र बाँकी काम आगामी आर्थिक वर्ष शुरु हुनुभन्दा अगावै पूरा हुने महतोले बताए ।
यसरी ५ वर्ष आयु हुने डिविएसडी प्रविधिको सडक निर्माण कार्य ६ वर्षमा पनि पूरा नहुँदा स्थानीयमा आक्रोश छ ।
२०७३ साल भदौ २४ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले शिलान्यास गरेका थिए । लगभग १ अर्बको लागतमा ३ वर्ष भित्रै निर्माण सम्पन्न गर्ने भनिएपनि पटक पटक समय थपेर पनि ५ वर्षपछि सडकको निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

हुलाकी राजमार्ग पयिरयोजना जनकपुरका प्रमुख महतोले साइट क्लियरेन्सका कारण समयमै काम सम्पन्न हुन नसकेको गुनासो गरे । उनले ४ वटा मन्दिरको व्यवस्थापन, ठाउँ ठाउँमा स्थानीयद्वारा अवरोध, टेलिफोनको तार तथा विद्युतको पोल व्यवस्थापन लगायतका कारण समयसीमा भित्र कार्य सम्पन्न हुन नसकेको बताए । उनका अनुसार ४ वटा मन्दिरमध्ये ३ वटा मन्दिरको व्यवस्थापन भई सकेको र पिपराको हनुमान मन्दिरको व्यवस्थापनका लागि पहल भईरहेको छ । महतोले भने ‘ पिपराको हनुमान मन्दिर सुरक्षित नै रह्ने मात्रै सो मन्दिरको कम्पाउण्ड वाल तथा केही घरको व्यवस्थापनका लागि पहल भईरहेको छ, त्यो असोज भित्रै पूरा गर्ने हाम्रो लक्ष्य छ ।’

यसका साथै दुई वर्ष अगाडी वर्षाका कारण ठाउँ–ठाउँमा सडक कटान भएपछि पनि समस्या श्रृजना भएको उनको भनाई छ । जनकपुरधाम–भिठामोड सडकखण्डमा पानी निकासको समस्या देखिएपछि थप ९ वटा नयाँ कल्भर्ट थपिएको हुलाकी राजमार्ग परियोजनाले जनाएको छ ।

कल्भर्ट निर्माणका लागि ईलाइट सूर्या जेभीसंग २०७७ साल भदौ १९ गते २९ करोड २६ लाख ६९ हजारमा ठेक्का सम्झौता भएको थियो । कल्भर्ट निर्माण कार्यको सम्पूर्ण काम २०७९ साल भदौ १८ सम्पन्न गर्नु पर्नेछ ।
हुलाकी राजमार्ग परियोजनाका अनुसार प्रतिभा वाइपी जेभीलाई ३९ करोड ५५ लाख ५६ हजार, आशिष पप्पु रोशन जेभीलाई ५१ करोड ३८ लाख ९१ हजार र कल्भर्ट निर्माणको ठेक्का पाएको ईलाइट सूर्या जेभीलाई १० करोड ८८ लाख ७१ हजार रुपैयाँ भुक्तानी समेत भई सकेको छ ।

जनकपुरधाम–भिठामोड सडकखण्डको निर्माण कार्यको गुणस्तरियतामाथी प्रश्न उठ्न थालेपछि संसदको विकास तथा पूर्वाधार समितिले सांसद ईन्दु शर्माको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो । सो समितिले ३ वर्ष अगाडी नै कमसल सामाग्रीको प्रयोग, मापदण्ड विपरित निर्माण, गुणस्तरहीन निर्माण भएको सहितका आफ्नो प्रतिवेदन विकास तथा पूर्वाधार समितिका सभापति कल्याणी खड्कालाई बुझाएको थियो ।

समितिले सडकको जग नै कमजोर रहेको, गुणस्तरहीन, सम्झौता विपरीत कार्य भएको तथा करोडौ रकमको हिनामिना भएको भन्दै १२ बुन्दे सुझाव सहित प्रतिवेदन बुझाएको थियो । डीबीएसडी कालोपत्रेको साटो मापदण्ड विपरित सामान्य ओटासिल कालोपत्रे गरिएको कुरा प्रतिवेदनमा उल्लेख थियो । सडक निर्माण कार्यको गुणस्तरियतामाथी सो संसदीय टोलीले प्रश्न उठाएपनि प्रतिवेदनको कार्यान्वयन भने हुन नसकेको अनुगमन समितिको संयोजक सांसद इन्दु शर्माले आरोप लगाइन् । यद्यपि अहिले पनि गुणस्तरीय सडक निर्माणका दवाब श्रृजना गरिरहेको उनको भनाई छ ।

यता माओवादी केन्द्रका नेता रामकुमार शर्मा त सो सडकखण्ड अविलम्ब निर्माण हुनुपर्ने भन्दै ७ वर्ष अगाडी आमरन अनशनसम्म बसेका थिए । तर सो सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा रहेको समयमा असन्तुष्ट देखिएका छन् । उनले भने ‘यो सडकखण्डको निर्माण कार्य सम्पन्न नहुँदै बुढो भई सकेको छ ।’ शर्माले सडकखण्ड निर्माण प्रकृयामा तलदेखि माथीसम्म चरम भ्रष्टाचार भएको आरोप लगाए ।

उनले डिबिएसडी सडकखण्डको निर्माण कार्य सम्पन्न भए लगत्तै स्फाल्ट प्रविधिको सडक निर्माणका लागि माग गर्ने जानकारी दिए । यसका साथै सडक निर्माण प्रकृयामा भ्रष्टाचारमा संलग्न रहेको जोकोही दोषीलाई कारबाहीका लागि माग समेत गरे ।