यम भुषाल, भगवान झासहित १० जनामाथि भ्रष्टाचार मुद्दा दायर
जनकपुर, साउन १८

मधेस प्रदेस सरकारले मुख्यमन्त्री लालबाबु राउतले आफ्नै मातहत राखेर चलाउँदै आएको बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत साइकल खरिद प्रकृयामा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलिप प्रधानसहित १० कर्मचारी र जुन कमपनीसंग साइकल खरिद गरिएको थियो उसलाई विपक्षी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
मधेस प्रदेस सरकारले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत दुुई चरणमा साइकल खरिद गरेको थियो । पहिलो चरणमा १० हजार र दोस्रो चरणमा १७ हजार साइकल खरिद गरेको थियो ।

१७ हजार साइकल खरिद गर्दा तोकिएको ब्रान्डलाई छोडेर ब्रान्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन प्रदेश सचिव यमप्रसाद भुसाल, सीडीई भगवान झा, उपसचिव दिलिप प्रधान र सहलेखापाल राजाराम मण्डलविरुद्ध १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ । कमसल प्रकृतिको १७ हजार साइकल बुझेको तथा भुक्तानी गरेको भन्दै उनीहरु बिरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दामा गलत लिखतमा दाबी लिएको भन्दै भण्डार शाखाका जिन्सी शाखा प्रमुख रामस्वार्थ मण्डल र भण्डार शाखाका खरिदार जीतमोहन कुमार दास, सोही मुद्दामा साइकल आपूर्ति गर्ने कम्पनी ओम सत्यसाई प्रा. लि. वीरगंज पर्सा नामक आपूर्ति कम्पनी र कम्पनीका म्यानेजिङ डाइरेक्टर रेणु अग्रवालविरुद्ध पनि १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।
मूल्यांकन समितिमा बसेर गलत लिखत प्रतिवेदन दिएको भन्दै ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । उपसचिव दिलिप प्रधान, सीडीई भगवान झा, शाखा अधिकृत सुरेन्द्रकुमार कर्ण र सहलेखापाल राजाराम मण्डलविरुद्ध मुद्दा दर्ता गरिएको छ । ती चारै जनाले दोस्रो पटक १० हजार थान साइकल खरिद गर्न नपाउने फर्मलाई मापदण्ड पुगेको भन्दै गलत लिखत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो ।
यसअघि अख्तियारको बर्दिबास कार्यालय प्रमुखले पहिलो चरणमा पनि भ्रष्टाचार भएको बताइसकेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खरिद गरेको साइकलमा प्रारम्भिक चरणको अनुसन्धानमा अनियमितता भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका तत्कालिन प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिएका थिए ।

उनले प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएकोले त्यो चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रुपमा अनुसन्धान थालेको बताएका थिए ।
प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । अख्तियारको टोलीले साइकल खरिदको फाइल नै नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।
