जनकपुर, साउन १९
दाँत तथा मुखको समस्याले शरीरमा अन्य रोग जस्तै मुख्य १० रोगको रुपमा लिने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको आधा भन्दा बढी जनसंख्यामा दाँत तथा मुखसम्बन्धी समस्याबाट ग्रसित रहेको तथ्यांक छ ।
त्यसैले दाँत तथा मुखमा हुने गरेका रोगका कारणलाई दृष्टिगत गर्दै ह्याप्पी स्माइल हेल्थ फाउण्डेशनले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको छ ।
पछिल्लो समय यस फाउण्डेशनले डेफोडिल्स पब्लिक स्कूलमा बालबालिकाको स्वस्थ्य मुख तथा दाँत सम्बन्धी दुई दिने चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
बिहीबारदेखि सुरु भएको यस कार्यक्रममा विद्यालयका ५ सय ५० बालबालिकाको निःशुल्क दन्त उपचार तथा परामर्श प्रदान गरिने फाउण्डेशनका अध्यक्ष डा. मारिशा दाहालले जानकारी दिइन् ।
डा. दाहालले फाउण्डेशनले विगत करिव ५ वर्षदेखि स्वास्थ्य सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताईन् ।
विद्यालयकी संचालिका विणा ठाकुरको अध्यक्षतामा सुरु गरिएको सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले फाउण्डेशनको यस कार्यलाई सराहनीय कार्य रहेको भन्दै प्रशंसा समेत गरे ।
यस कार्यक्रममा फाउण्डेशन धनुषाका अध्यक्ष डा. सुनिल साह, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. अंकुर साह, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुरेश झा, धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरे, समाजसेवी अमरचन्द्र अनिललगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
