जनकपुर, साउन १९
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा जनमत पार्टीले माग गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साईकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको हो ।
पार्टी धनुषाका ईन्चार्ज वीपी साहले भने, ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा ब्यापक भ्रष्टाचार भएको छ, हाम्रो पार्टीको दबावले छानविन प्रक्रिया सुरु भयो, उनले अघि थप्दैँ भने, ‘अख्तियारले छानविन गर्दा नै मुख्यमन्त्री राउतले राजीनामा दिनु पर्ने थियो, त्यतिबेला दिइएन तर अब विशेष अदालतमा मुद्दा नै दायर भएपछि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनु पर्छ ।’
उनले कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप लगाए । उनले भने, ‘मुख्यमन्त्रीकै नाम जोडिएको कार्यक्रम, मुख्यमन्त्रीकै कार्यालयबाट सञ्चालित कार्यक्रम, मुख्यमन्त्रीकै निर्देशनमा सबै निर्णय हुने कार्यक्रममा मात्र कर्मचारी दोषी छन् भनेर तर्क गर्नु गलत हो, मुख्यमन्त्री लालबाबु राउतको संलग्नता बिना यत्रो ठूलो भ्रष्टाचार हुनै सक्दैन,’ उनले भने, ‘आफ्नै हातबाट साइकल वितरण गर्ने, फोटो खिचाउने तर कुन ब्रान्डको साइकल वितरण भइरहेको छ भनेर मुख्यमन्त्रीले थाहा नपाउने कुरै भएन ।’
उनले भने, ‘मुख्यमन्त्री हुनुभन्दा पहिले लालबाबु राउत बीरगंज महानगरपालिकाको कर्मचारी हुँदा पनि भ्रष्टाचारमा मुछिएका थिए । त्यतिबेला नै राउत जीले भ्रष्टाचार कसरी गर्ने र कसरी जोगिने भनेर तालिम लिनु भएको होला । त्यसकारण साइकल खरिदमा कागजी रुपमा आफू नदेखिने गरी भ्रष्टाचार गर्नु भएको छ ।’
राजनीतिक दबाब र प्रभावका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री राउतलाई जोगाउन खोजेको आरोप उनले लगाए । उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ठूलो माछामाथि हात हाल्न डराउँछ भन्ने कुरा नेपाली जनतालाई थाहा छ । त्यही भएर अख्तियारले पनि कर्मचारीमाथि मात्र मुद्दा दायर गरेको छ ।’
मधेस प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश नम्बर २ का सचिवसहित १० जनाविरुद्ध बुधबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
